डिजिटल माध्यमबाट बर्दियाको पर्यटन प्रवर्द्धन गर्ने अभियान
बर्दिया — बर्दियाको पर्यटनलाई डिजिटल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले ‘बर्दिया डिजिटल मेला–कथादेखि यात्रासम्म’ आयोजना गरिएको छ।ठाकुरबाबा नगरपालिकाको पहल तथा द एसिया फाउन्डेसन नेपालको सहयोगमा ठाकुरबाबास्थित बाबई रिसोर्टमा आयोजित मेलामा पर्यटन व्यवसायी, स्थानीय समुदाय, सामग्री सिर्जनाकर्ता, सरकारी प्रतिनिधि, विद्यार्थी तथा युवाको सहभागिता थियो।
कार्यक्रममार्फत बर्दियाका पर्यटकीय गन्तव्य, स्थानीय संस्कृति, प्रकृति र पर्यटन व्यवसायलाई डिजिटल प्लेटफर्मसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज, थारू संस्कृति, कर्णाली नदीलगायत प्राकृतिक तथा सांस्कृतिक सम्पदाले परिचित भए पनि डिजिटल माध्यममा यहाँका पर्यटन अनुभव र सेवाको पर्याप्त उपस्थिति नरहेको आयोजकको भनाइ छ। यही अवस्थालाई ध्यानमा राखेर सामग्री सिर्जनाकर्ता र स्थानीय पर्यटन व्यवसायीलाई एउटै मञ्चमा ल्याइएको हो।
तीन चरणमा अभियान
‘कथादेखि यात्रासम्म’ अभियानलाई तीन चरणमा सञ्चालन गरिएको छ। पहिलो चरणमा सामग्री सिर्जनाकर्ताहरूका लागि दुईदिने ‘इन्फ्लुएन्सर एक्सपिडिसन’ आयोजना गरिएको थियो। सहभागीले बर्दियाको वन्यजन्तु, प्रकृति, स्थानीय समुदाय तथा थारू संस्कृतिको प्रत्यक्ष अनुभव गरी त्यसलाई डिजिटल सामग्रीमार्फत प्रस्तुत गर्नेछन्।
दोस्रो चरणअन्तर्गत आयोजित डिजिटल मेलामा प्यानल छलफल, इन्फ्लुएन्सर टक, सीप विकाससम्बन्धी सत्र, सामग्री सिर्जना, सांस्कृतिक प्रस्तुति तथा प्रदर्शनी राखिएको थियो। यसले पर्यटन उद्यमी र सामग्री सिर्जनाकर्ताबीच प्रत्यक्ष सम्पर्क तथा सहकार्यको अवसर सिर्जना गरेको आयोजकले जनाएको छ।
तेस्रो चरणमा एक्सपिडिसन तथा मेलाका क्रममा तयार भएका सामग्रीलाई विभिन्न डिजिटल प्लेटफर्ममार्फत निरन्तर प्रचार गरिनेछ। यसबाट कार्यक्रम सकिएपछि पनि बर्दियाको डिजिटल उपस्थितिलाई निरन्तरता दिने लक्ष्य राखिएको छ।
विश्व पर्यटन सञ्जालका संस्थापक सदस्य तथा नेपाल पर्यटन विभागका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बर्दियाका स्थानीय कथा र अनुभवलाई डिजिटल माध्यमबाट बाहिरी दर्शकमाझ पुर्याउनुपर्ने बताए।
नेपाल पर्यटन विभागका कार्यवाहक निर्देशक सुनील शर्माले पनि स्थानीय प्रतिभा र समुदायलाई पर्यटन प्रवर्द्धनसँग जोड्ने यस्ता कार्यक्रमले बर्दियाको डिजिटल प्रचार रणनीति विकास गर्न सहयोग पुग्ने बताए।
द एसिया फाउन्डेसन नेपालका निर्देशक प्रणय स्थापितले बर्दियासँग प्राकृतिक तथा सांस्कृतिक पर्यटनका पर्याप्त आधार भए पनि ती सामग्रीलाई डिजिटल माध्यमबाट व्यापक दर्शकमाझ पुर्याउनुपर्ने आवश्यकता रहेको बताए।
सामग्री सिर्जनाकर्ताको सहभागिता
मेलामा सहभागी सामग्री सिर्जनाकर्ताले बर्दियाका मानिस, संस्कृति, प्रकृति र पर्यटन अनुभवमा आधारित सामग्री तयार गर्ने आयोजकले जनाएको छ। स्थानीय सामग्री सिर्जनाकर्तालाई पनि यस अभियानमा जोडेर आफ्नै दृष्टिकोणबाट बर्दियाको कथा प्रस्तुत गर्ने अवसर दिइएको छ।
बर्दिया डिजिटल मेलामा बुद्ध एयर ट्राभल पार्टनर तथा स्टोर्म कम्युनिकेसन्स नेपाल इभेन्ट पार्टनरका रूपमा सहभागी थिए। ठाकुरबाबा नगरपालिका, द एसिया फाउन्डेसन नेपाल, पर्यटन क्षेत्रका व्यवसायी तथा अन्य साझेदारको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
आयोजकका अनुसार डिजिटल प्लेटफर्ममार्फत पर्यटकले गन्तव्यबारे जानकारी लिने, अनुभव र भिडियो हेर्ने तथा अन्य प्रयोगकर्ताको सिफारिसका आधारमा भ्रमणस्थल छनोट गर्ने क्रम बढेकाले पर्यटन प्रवर्द्धनमा डिजिटल स्टोरीटेलिङको भूमिका महत्वपूर्ण बन्दै गएको छ।
यसैलाई आधार बनाएर बर्दियाका स्थानीय समुदाय र पर्यटन उद्यमीलाई डिजिटल सामग्री सिर्जना तथा प्रवर्द्धनको प्रक्रियासँग जोड्ने अभियान अघि बढाइएको हो।
