रूपाकोट रिसोर्टको कारोबार दुई वर्षमा झन्डै दोब्बर, आईपीओ निकाल्ने योजना
काठमाडौं — पोखरास्थित रूपाकोट रिसोर्टले पछिल्लो दुई वर्षमा आफ्नो कारोबार उल्लेख्य रूपमा बढाएको छ। रिसोर्टले गत आर्थिक वर्षमा १३ करोड रुपैयाँ कारोबार गरेको जनाएको छ।
रिसोर्टको कारोबार सन् २०२४ मा ७ करोड ४० लाख रुपैयाँ रहेकोमा २०२५ मा बढेर १० करोड र २०२६ मा १३ करोड रुपैयाँ पुगेको हो। सन् २०१२ मा स्थापना भएको रिसोर्ट २०२६ जुलाईमा पब्लिक कम्पनीमा परिणत भएको थियो।
चारतारे स्तरको यो रिसोर्ट करिब ९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। हाल ५१ वटा कोठाबाट सेवा दिइरहेको कम्पनीले क्षमता विस्तारलाई अघि बढाउँदै तत्काल थप ९ कोठा निर्माण गर्ने भएको छ। त्यसपछि कोठा संख्या ६९ पुर्याउने योजना कम्पनीको छ।
रिसोर्टले ६९ कोठासहित थप रेस्टुरेन्ट निर्माणको काम सन् २०२७ जुलाईसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ। क्षमता विस्तारसम्बन्धी आयोजनाको वित्तीय प्रगति हालसम्म ८८ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।
पूँजी संरचनामा सुधार
रिसोर्टमा ४२ करोड २० लाख रुपैयाँ इक्विटी लगानी भएको छ। कम्पनीको समग्र गियरिङ अनुपात १.१६ गुणा रहेको छ, जुन सन् २०२५ मा ३.४३ गुणा थियो। त्यस्तै, ब्याज कभरेज अनुपात ४.३१ गुणा रहेको कम्पनीले जनाएको छ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ७८ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ। यसमध्ये ७८ करोड ४० लाख रुपैयाँ दीर्घकालीन र ५० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि हो।
सञ्चालन नाफा मार्जिन पनि सुधारिएको छ। सन् २०२५ मा १३.४६ प्रतिशत रहेको यस्तो मार्जिन २०२६ मा १४.४४ प्रतिशत पुगेको छ। ग्रस क्यास एक्रुअल पनि २०२५ को ९ करोड रुपैयाँबाट बढेर २०२६ मा २१ करोड रुपैयाँ पुगेको छ।
यद्यपि, उच्च ह्रासकट्टी र ब्याज खर्चका कारण पछिल्ला वर्षहरूमा खुद नाफामा दबाब रहेको कम्पनीको वित्तीय विवरणले देखाउँछ। सन् २०२६ मा कम्पनीको करेन्ट रेसियो ०.६९ गुणा रहेको छ।
आईपीओबाट ऋण घटाउने लक्ष्य
कम्पनीले थप पुँजी जुटाउन सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। आईपीओबाट प्राप्त रकममध्ये बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण घटाउन प्रयोग गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
रूपाकोट रिसोर्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २२ किलोमिटर दूरीमा छ। रूपा तालबाट करिब ५ किलोमिटर र बेगनास तालबाट ६ किलोमिटरको दूरीमा रहेको रिसोर्टबाट हिमाली दृश्यसमेत अवलोकन गर्न सकिन्छ।
कम्पनीले आफ्नो व्यवसायका लागि पर्यटन क्षेत्रको उतारचढाव, प्रतिस्पर्धा, विस्तार परियोजनामा हुनसक्ने ढिलाइ वा लागत वृद्धि तथा परिवर्तनशील ब्याजदरलाई प्रमुख जोखिमका रूपमा पहिचान गरेको छ।
