२९औँ वर्षमा यती एयरलाइन्स, एक वर्षमै ९ लाख यात्रुले लिए सेवा
काठमाडौं— निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले व्यावसायिक उडान सुरु गरेको २८ वर्ष पूरा गर्दै २९औँ वर्षमा प्रवेश गरेको छ। सन् १९९८ मा उडान थालेको कम्पनीले पछिल्लो एक वर्षमा करिब ९ लाख यात्रुलाई सेवा दिएको जनाएको छ।
कम्पनीका अनुसार यात्रुको विश्वास, उड्डयन सुरक्षा र सेवा अनुभवलाई केन्द्रमा राख्दै सञ्चालन तथा सेवा प्रणालीमा निरन्तर सुधार गर्दै आएको छ। पछिल्लो एक वर्षमा सेवा लिने यात्रुको संख्या आफ्नो सेवाप्रतिको विश्वासको संकेत भएको यतीको दाबी छ।
नेपालको आन्तरिक हवाई क्षेत्रमा सञ्चालन लागत, विमानस्थलको पूर्वाधार, मौसमका कारण हुने अवरोध र सडक यातायातसँगको प्रतिस्पर्धाजस्ता चुनौती रहेको कम्पनीले जनाएको छ। यी चुनौतीबीच ठूलो संख्यामा यात्रुलाई सेवा दिनुलाई आफ्नो महत्वपूर्ण उपलब्धिका रूपमा यतीले उल्लेख गरेको छ।
बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै कम्पनीले टिकट बुकिङ, विमानस्थल सेवा, यात्रुलाई सूचना दिने प्रणाली, कर्मचारीको व्यवहार तथा समय व्यवस्थापनलगायत क्षेत्रमा सुधार गर्दै आएको जनाएको छ। यात्रुका प्रतिक्रिया र सुझावका आधारमा डिजिटल सेवा तथा ग्राहक सम्पर्क प्रणालीलाई पनि विस्तार गरिएको कम्पनीको भनाइ छ।
यतीले उड्डयन सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित प्राविधिक परीक्षण, चालक दल तथा प्राविधिक कर्मचारीको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार गरिरहेको जनाएको छ।
नेपालको भौगोलिक अवस्थाका कारण आन्तरिक हवाई सेवा पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आवागमनका लागि महत्वपूर्ण रहेको कम्पनीको भनाइ छ। विभिन्न प्रमुख सहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको यतीले यसबाट यात्रुको समय बचतसँगै स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुगेको जनाएको छ।
२९औँ वर्षमा प्रवेशसँगै कम्पनीले विगतको अनुभव र यात्रुको विश्वासलाई आधार बनाएर आगामी दिनमा सुरक्षित, भरपर्दो, सहज तथा प्रविधिमैत्री हवाई सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
