भारतबाट दुई महिनामै ३ अर्ब ५२ करोडको आलु, प्याज र गोलभेँडा भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालले भारतबाट ३ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी मूल्यका आलु, प्याज र गोलभेँडा आयात गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा मात्रै भारतबाट १ लाख १६ हजार ६ सय ४१ टन ताजा आलु, प्याज र गोलभेँडा नेपाल भित्रिएको हो। स्वदेशी उत्पादनले माग धान्न नसकेपछि यी दैनिक उपभोग्य तरकारीमा भारतमाथिको निर्भरता देखिएको हो।
दुई महिनाको अवधिमा यी तीन कृषि उपज आयातमा कुल ३ अर्ब ५२ करोड ७२ लाख ३२ हजार रुपैयाँ बाहिरिएको छ। यसबाट सरकारले ३१ करोड ७६ लाख ८२ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।
आयातित वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा आलुको रहेको छ। साउन र भदौमा भारतबाट ७३ हजार ८ सय ७९ टन ताजा आलु आयात भएको छ। यसको मूल्य १ अर्ब ८५ करोड ७२ लाख १५ हजार रुपैयाँ रहेको छ। आलु आयातबाट सरकारले १६ करोड ७२ लाख ९७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ।
त्यसपछि प्याज आयातमा ठूलो रकम खर्च भएको छ। दुई महिनामा ३५ हजार १ सय ७४ टनभन्दा बढी प्याज भारतबाट नेपाल भित्रिएको छ। उक्त प्याज खरिदमा १ अर्ब ४७ करोड ५५ लाख ३९ हजार रुपैयाँ खर्च भएको विभागको तथ्यांकले देखाउँछ। प्याज आयातबाट राज्यले १३ करोड २८ लाख ४७ हजार रुपैयाँ भन्सार राजस्व उठाएको छ।
त्यस्तै, सोही अवधिमा ७ हजार ५ सय ८६ टन ताजा गोलभेँडा भारतबाट आयात गरिएको छ। गोलभेँडा आयातमा १९ करोड ४४ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ। यसबाट सरकारले १ करोड ७५ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
यसरी हेर्दा चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामै दैनिक भान्सामा प्रयोग हुने यी तीन तरकारीको आयातमा ठूलो रकम भारततर्फ गएको देखिन्छ। तथ्यांकअनुसार यी तीनै कृषि उपजको आयात भारतबाटै भएको छ।
