११ वर्षपछि एमाले राजनीतिमा विद्यादेवी भण्डारीको पुनरागमन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टीको वरिष्ठ नेताका रूपमा अघि बढाउने तयारी गरेको छ। ललितपुरको रामबाग, भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव प्रस्तुत गरिएको हो। एमालेको विद्यमान विधानमा भने ‘वरिष्ठ नेता’ पदको स्पष्ट व्यवस्था छैन।
राष्ट्रपति निर्वाचित भएपछि सन् २०७२ कात्तिकदेखि सक्रिय पार्टी राजनीतिबाट अलग भएकी भण्डारी पछिल्ला वर्षमा पुनः एमाले राजनीतिमा सक्रिय हुन खोज्दै आएकी थिइन्। उनले केही समयअघि पार्टी सदस्यता नवीकरण गरेर एमालेमै राजनीतिक यात्रा अघि बढाउने घोषणा गरेकी थिइन्।
भण्डारीले आफूले पार्टी छाडेर राष्ट्रपतिको जिम्मेवारी सम्हालेको नभई संवैधानिक भूमिकाका कारण पार्टी राजनीतिबाट अलग रहेको बताउँदै आएकी थिइन्। तर, उनको पार्टी सदस्यतालाई लिएर एमाले नेतृत्वसँग विवादसमेत भएको थियो। ९ साउन २०८२ मा उनको सदस्यता ‘होल्ड’ गरिएको थियो, जसलाई भण्डारी पक्षले असन्तुष्टिका साथ लिएको थियो।
पछिल्लो समय भने एमाले नेतृत्व र भण्डारीबीचको सम्बन्धमा नयाँ परिस्थिति देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच केही दिनअघि लामो भेटवार्ता भएको थियो। त्यसअघि भण्डारीले महासचिव शंकर पोखरेलसँग समेत भेट गरेकी थिइन्।
भण्डारीको पार्टी राजनीतिमा पुनरागमनको सम्भावना यसअघि पनि पटक–पटक चर्चामा आएको थियो। तीन वर्षअघि एक अन्तर्वार्तामा उनले आफू एमालेको अध्यक्ष बन्ने सम्भावना समाप्त नभएको संकेत गरेकी थिइन्। पछिल्लो घटनाक्रमले भने उनको त्यो सम्भावनालाई फेरि राजनीतिक बहसको विषय बनाएको छ।
भण्डारीले २०८२ सालको मदन भण्डारी जयन्तीका अवसरमा एमालेमै रहेर राजनीतिक यात्रा अघि बढाउने आफ्नो चाहना सार्वजनिक गरेकी थिइन्। उनले पार्टीभित्र एकल नेतृत्व हाबी हुँदै गएको भन्दै त्यसले जनताको बहुदलीय जनवादको मर्मसँग मेल नखाने धारणा पनि राखेकी थिइन्।
राष्ट्रपति बन्नुअघि भण्डारी लामो समय एमालेको सक्रिय राजनीतिमा थिइन्। अनेरास्ववियुको राजनीतिबाट यात्रा सुरु गरेकी उनी तत्कालीन नेकपा माले हुँदै एमालेको विभिन्न जिम्मेवारीमा पुगिन्। मदन भण्डारीको निधनपछि उनको राजनीतिक सक्रियता थप बढेको थियो।
उनले विज्ञान तथा प्रविधि, जनसंख्या तथा वातावरण र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन्। त्यसपछि एमालेको उपाध्यक्ष हुँदै २०७२ सालमा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। २०७४ सालमा दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति बनेकी भण्डारी २०७९ पछि शीतलनिवासबाट बाहिरिएकी हुन्।
भण्डारीको पुनरागमनलाई एमालेभित्रको आगामी नेतृत्वसँग जोडेर पनि हेरिएको छ। पछिल्लो निर्वाचनपछि पार्टी नेतृत्वमा नयाँ समीकरण र विकल्पबारे बहस चलिरहेका बेला उनलाई वरिष्ठ नेताका रूपमा अघि सार्ने प्रस्ताव आएको हो।
यसैबीच एमाले र नेकपाबीच सहकार्य तथा सम्भावित एकताको विषयमा समेत छलफल भइरहेको छ। दुवै पक्षबीच पटक–पटक संवाद भइरहेका बेला भण्डारीलाई सम्भावित एकीकृत राजनीतिक संरचनाको नेतृत्वसँग जोडेर चर्चा गर्नेहरू पनि छन्।
यद्यपि, पूर्वराष्ट्रपति पुनः पार्टी राजनीतिमा फर्किनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने विषयमा राजनीतिक वृत्तमा फरक–फरक धारणा छन्। विश्लेषक सञ्जीव पोखरेलले नेपालमा राष्ट्रपतिको संवैधानिक भूमिका र अमेरिकाको कार्यकारी राष्ट्रपतीय प्रणालीबीच भिन्नता रहेकाले पूर्वराष्ट्रपतिको पार्टी राजनीतिमा पुनरागमनलाई त्यही आधारमा तुलना गर्न नमिल्ने धारणा व्यक्त गरेका छन्।
अब एमाले केन्द्रीय कमिटीको निर्णयसँगै भण्डारीको पार्टीभित्रको नयाँ भूमिकाले आगामी नेतृत्व र सम्भावित राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय थप चासोको केन्द्र बनेको छ।
