महासभामा प्रधानमन्त्री बालेनको सवाल : हतियार सहजै पुग्ने विश्वमा किसानलाई मल–इन्धन किन कठिन?
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा देखिएको असमानताप्रति प्रश्न उठाउँदै किसानलाई आवश्यक मल र इन्धन सहज रूपमा उपलब्ध हुन नसकेको विषय संयुक्त राष्ट्रसङ्घको महासभामा उठाएका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै शाहले विश्वमा हतियार तथा गोलाबारुद छोटो समयमै जुनसुकै ठाउँमा पुर्याउन सक्ने आपूर्ति संयन्त्र भए पनि किसानका लागि आवश्यक कृषि सामग्रीको आपूर्ति कमजोर रहेको बताए।
उनका अनुसार अन्तरमहादेशीय क्षेप्यास्त्रदेखि राइफल र गोलाबारुदसम्म तोकिएको समयमा गन्तव्यमा पुर्याउन सक्ने विश्व व्यवस्थामा नेपालका किसानले आवश्यक परेको समयमा बजार मूल्यमा समेत मल र इन्धन प्राप्त गर्न नसक्ने अवस्था विडम्बनापूर्ण छ।
‘हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार बनाएका छौँ,’ शाहले भने।
उनले आर्थिक क्षमता भएका देश तथा नागरिकले आवश्यक वस्तु खरिद गर्न सक्ने वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिए। विश्वले ७२ घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने क्षमता राख्दा किसानलाई सम्मानजनक जीवनयापनका लागि आवश्यक साधनबाट वञ्चित राख्ने कुनै औचित्य नरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले आपूर्ति प्रणालीको यो असमानतालाई जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग पनि जोडे। उनले विकासशील तथा कमजोर देशका नागरिकले आफूले सिर्जना नगरेका संकटको समेत ठूलो भार वहन गर्नुपरिरहेको बताए।
जलवायु परिवर्तनका कारण नेपालजस्ता देश प्रभावित भइरहेका बेला कमजोर विश्वव्यापी आपूर्ति शृङ्खलाले गरिब तथा विपन्न समुदायमाथि थप असर पारिरहेको उनले उल्लेख गरे।
