लगातार वर्षापछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द
चितवन । अविरल वर्षाका कारण पहिरो खस्ने क्रम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।
बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो खसेको तथा थप जोखिम हुनसक्ने अवस्था देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि दुवै सडक बन्द गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सडकमा सवारी आवागमन रोकिएको थियो। वर्षा नरोकिएपछि सुरक्षाको दृष्टिले सडक सञ्चालनमा नल्याउने निर्णय गरिएको हो।
पृथ्वी राजमार्गको चितवन खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि आवागमन प्रभावित भएको प्रशासनले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पनि पहिरो र वर्षाका कारण जोखिम बढेको छ।
प्रशासनका अनुसार नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। त्यस्तै, पृथ्वी राजमार्गमा दैनिक १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन्।
वर्षा जारी रहेकाले सडक खुलाउने विषयमा जोखिमको अवस्था मूल्याङ्कन गरेर निर्णय गरिने जनाइएको छ।
