पूर्वी नेपालमा वर्षा घट्यो, काठमाडौंमा आउँदै-जाँदै पानी; पश्चिममा भोलिसम्म असर
काठमाडौं । केही दिनदेखि जारी वर्षा पूर्वी नेपालमा क्रमशः कम हुन थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित पूर्वी भूभागमा मौसममा सुधार देखिए पनि पश्चिमी क्षेत्रमा भने आज राति र भोलि बिहानसम्म वर्षा हुने सम्भावना कायमै छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पूर्वी भूभागमा बिहीबार रातिदेखि नै वर्षाको मात्रा घटेको छ। अधिकांश स्थानमा अहिले बादल लागे पनि उल्लेख्य वर्षा भइरहेको छैन।
काठमाडौं उपत्यकामा पनि शनिबार बिहान केही स्थानमा घाम लागेको थियो। यद्यपि राजधानीको मौसम पूर्ण रूपमा खुल्ने अवस्था नरहेको मौसमविद्हरूले बताएका छन्। यहाँ केही समय पानी पर्ने, रोकिएर पुनः घाम लाग्ने तथा फेरि वर्षा हुने अवस्था देखिन सक्छ।
काठमाडौंमा शनिबार राति वर्षाको सम्भावना रहे पनि भारी वर्षा हुने सम्भावना भने कम रहेको मौसमविद् लामिछानेले बताए। उनका अनुसार दिउँसो केही समय बादल हटेर घाम देखिन सक्ने भए पनि साँझ वा रातितिर पुनः पानी पर्न सक्छ।
पश्चिममा अझै वर्षाको सम्भावना
पूर्वी क्षेत्रमा सुधार देखिए पनि पश्चिमी नेपालमा वर्षाको प्रभाव तत्काल हट्ने देखिएको छैन। पछिल्लो ६ घण्टामा डडेलधुरामा ५० मिलिमिटरसम्म वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भारीदेखि धेरै भारी वर्षा भएको छ। पश्चिमी क्षेत्रमा शनिबार राति र आइतबार बिहानसम्म वर्षा हुन सक्ने मौसमविद् लामिछानेले बताए।
उनका अनुसार आइतबार दिउँसो वा साँझपछि पश्चिमी भूभागको मौसम पनि क्रमशः सुधार हुँदै जानेछ। त्यसपछि ठूलो वर्षाको सम्भावना घट्दै जाने अनुमान गरिएको छ।
महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने जनाइएको छ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
पश्चिमी क्षेत्रमा आइतबारसम्म वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दाले आवश्यक सावधानी अपनाउनुपर्ने मौसमविद् लामिछानेले सुझाव दिएका छन्।
भारततर्फको न्यूनचापीय प्रणाली कमजोर हुँदै
नेपालमा वर्षाको प्रभाव पारिरहेको मौसम प्रणालीसँगै भारततर्फ विकसित भएको न्यूनचापीय प्रणाली पनि कमजोर हुँदै गएको छ।
केही दिनअघि बंगालको खाडीमा विकसित भएको प्रणाली शक्तिशाली हुँदै डिप्रेसनमा परिणत भएको थियो। त्यसपछि यो स्थलतर्फ प्रवेश गरी अहिले भारतको छत्तीसगढमाथि रहेको बताइएको छ।
भारतको मौसम विभागका अनुसार उक्त प्रणाली शुक्रबार साँझ छत्तीसगढको उत्तरी क्षेत्रमा पुगेको थियो। यो उत्तर–उत्तरपश्चिमतर्फ सर्दै दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने र क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।
नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि उक्त प्रणाली आगामी १२ घण्टामा कमजोर हुँदै न्यूनचापीय क्षेत्रमा परिणत हुने जनाएको छ।
