चार दिनमै दुई स्थानमा ५०० मिलिमिटरभन्दा बढी वर्षा, डेढगाउँमा सर्वाधिक
काठमाडौं । लगातार चार दिन परेको वर्षाले देशका विभिन्न क्षेत्रमा ठूलो मात्रामा पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार १८६ वटा वर्षा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ ।
सेप्टेम्बर २३ बिहान ८ः४५ बजेदेखि सेप्टेम्बर २७ बिहान ८ः४५ बजेसम्मको अवधिमा सबैभन्दा धेरै वर्षा नवलपरासीको डेढगाउँ मापन केन्द्रमा भएको छ । उक्त केन्द्रमा ५४४.२ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।
त्यसपछि कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर वर्षा भएको छ । यस अवधिमा तनहुँको अतरउलीटारमा ४७२ मिलिमिटर, पाल्पाको तानसेनमा ४५८ मिलिमिटर र स्याङ्जाको पञ्चमुलमा ४३१.८ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, म्याग्दीको दरबाङमा ३९७.४, चितवनको माडी कल्याणपुरमा ३९६, कपिलवस्तुको मैनारमा ३८८.६, कपिलवस्तुकै भगवानपुरमा ३६६.६ र पूर्वी नवलपरासीको देउराली नवलपुरमा ३६५.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
विभागका अनुसार ५५ वटा मापन केन्द्रमा १०० देखि १५० मिलिमिटर, ४८ केन्द्रमा १५० देखि २०० मिलिमिटर र ३७ केन्द्रमा २०० देखि २५० मिलिमिटर वर्षा भएको छ ।
त्यसैगरी १९ केन्द्रमा २५० देखि ३०० मिलिमिटर, १६ केन्द्रमा ३०० देखि ३५० मिलिमिटर र ६ केन्द्रमा ३५० देखि ४०० मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
एक मापन केन्द्रमा ४०० देखि ४५० मिलिमिटर, दुई केन्द्रमा ४५० देखि ५०० मिलिमिटर तथा दुई केन्द्रमा ५०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ ।
भारतमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण चार दिनसम्म निरन्तर वर्षा भए पनि आइतबारदेखि यसको प्रभाव क्रमशः कमजोर भएको छ । सुदूरपश्चिमका एक–दुई स्थानमा भने आइतबार साँझसम्म वर्षा भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि देशभरको मौसममा क्रमिक सुधार आउने जनाएको छ ।
