सडकको अवस्था हेरेर दशैंको अग्रिम टिकट खुलाइने
काठमाडौं । दशैं–तिहारमा घर फर्किने यात्रुलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज १५/१६ गतेपछि खुलाउने तयारी गरिएको छ। यद्यपि, देशभरका सडकको अवस्थाको मूल्याङ्कन गरेपछि मात्रै बुकिङ सुरु गर्ने अन्तिम निर्णय हुनेछ।
यातायात व्यवस्था विभागका अनुसार पछिल्लो समयको लगातार वर्षाका कारण धेरै ठाउँका सडक बिग्रिएका छन् भने कतिपय रुटमा यातायात सञ्चालनसमेत प्रभावित भएको छ। त्यसैले सडकको अवस्था अध्ययन गरेर मात्रै अग्रिम टिकटको मिति तय गरिने भएको हो।
विभागका निर्देशक मणिराम भुसालले आगामी केही दिनमा सम्बन्धित निकायसँग छलफल गरी बुकिङ खोल्नेबारे निर्णय गरिने बताए। उनका अनुसार यात्रुको सुरक्षा पहिलो प्राथमिकता भएकाले सडकको अवस्था यकिन नगरी टिकट बिक्री सुरु गरिने छैन।
यसपटक अग्रिम टिकट व्यवस्थापनमा अनलाइन प्रणालीलाई प्राथमिकता दिने तयारी छ। अनलाइनबाट टिकट लिन नसक्ने यात्रुले भने सम्बन्धित यातायात कम्पनीका आधिकारिक काउन्टर वा परिचयपत्र भएका आधिकारिक कर्मचारीमार्फत टिकट लिनुपर्नेछ। बिचौलिया तथा अनधिकृत व्यक्तिबाट टिकट खरिद नगर्न विभागले यात्रुलाई सचेत गराएको छ।
दशैं–तिहारका बेला यात्रुको चापलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको सहभागितामा समिति गठन गर्ने तयारी पनि गरिएको छ। मुख्य नाकाहरूमा नागरिक सहायता कक्ष र स्वास्थ्य डेस्क सञ्चालन गरिनेछ। थानकोट–नागढुंगा, कोटेश्वर, फर्पिङ, कलंकी, बालाजु, जगाती र साँगा भञ्ज्याङ क्षेत्रमा यात्रु सहायता कक्ष राख्ने तयारी छ।
तोकिएकोभन्दा बढी भाडा लिए कारबाही
यातायात व्यवस्था विभागले चाडपर्वका लागि सार्वजनिक सवारीको भाडा वृद्धि नहुने स्पष्ट पारेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य परिवर्तन नगरेसम्म हाल कायम भाडादर नै लागू हुने विभागको भनाइ छ।
निर्धारित अधिकतम भाडाभन्दा बढी रकम असुल्ने सवारी सञ्चालक तथा व्यवसायीमाथि कारबाही गरिने निर्देशक भुसालले बताए। यात्रुले आफ्नो रुटको अधिकतम भाडाबारे विभागको वेबसाइट वा यात्रु सहायता कक्षबाट जानकारी लिन सक्नेछन्।
बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी वा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन विभागले आग्रह गरेको छ।
लामो दूरीमा दुई चालक अनिवार्य
चाडपर्वमा लामो दूरीका सवारीसाधनबाट हुने सम्भावित दुर्घटना कम गर्न २५० किलोमिटरभन्दा लामो रुटमा दुई चालक राख्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार लामो समयसम्म एउटै चालकले सवारी चलाउँदा थकानका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले व्यवसायीलाई दुई चालक राख्न निर्देशन दिइएको छ।
त्यसैगरी, लागूऔषध सेवन गरी सवारी चलाउने गतिविधि नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँच बढाउने तयारी गरेको छ। ब्रेथलाइजरलगायतका उपकरण प्रयोग गरी चालकको परीक्षण गरिनेछ।
चाडपर्वको भीडमा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, एउटै सिटमा धेरै टिकट काट्ने तथा अनधिकृत काउन्टरमार्फत यात्रु ठग्ने गतिविधिमाथि पनि निगरानी बढाइने भएको छ।
व्यवसायीको प्राथमिकता सुरक्षित यात्रा
यातायात व्यवसायीहरूले भने अहिले अग्रिम टिकट खोल्नुभन्दा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती भएको बताएका छन्।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार धादिङलगायत विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा कतिपय सवारीसाधन लामो समयदेखि बाटोमै रोकिएका छन्। यस्तो अवस्थामा सडकको अवस्था थप बिग्रने सम्भावनालाई ध्यानमा राखेर केही समय पर्खिनुपर्ने उनको भनाइ छ।
व्यवसायीहरूले चाडपर्वमा भाडा बढाउने माग नगरेको पनि सिटौलाले बताए। उनका अनुसार हाल कायम भाडादरमै यात्रुलाई सेवा दिने तयारी छ।
सरकारले अनलाइन टिकटिङलाई प्राथमिकता दिए पनि यसको कार्यान्वयन अझै पूर्ण रूपमा प्रभावकारी नभएको व्यवसायीहरूको गुनासो छ। अनलाइन टिकटिङसम्बन्धी सरकारी प्रक्रिया स्पष्ट रूपमा कार्यान्वयनमा नआएकाले उपलब्ध प्रविधिको अधिकतम प्रयोग गरेर टिकट व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
सडक र सवारीको संयुक्त अनुगमन
चाडपर्वमा सुरक्षित यात्राका लागि यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग र वातावरण विभागबीच समन्वय गरी काम गर्ने तयारी गरिएको छ। सडकको अवस्था तथा मर्मतसम्भारसँगै सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषणसमेत जाँच गरिनेछ।
मुख्य सडक र नाकाबाहेक मठमन्दिर, व्यापारिक क्षेत्र तथा भीडभाड हुने स्थानमा पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकता दिइने ट्राफिक प्रहरीले जनाएको छ।
यातायात व्यवस्था विभागले सडक तथा सवारीको अवस्था, अग्रिम टिकट, भाडा अनुगमन र यात्रु सहायता कक्षलाई समन्वय गरेर सञ्चालन गर्दै चाडपर्वमा यात्रुको आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउने तयारी गरेको छ।
