पुल बिग्रिएपछि दोधारा–चाँदनीमा पुराना दिनको झल्को
धनगढी । महाकाली नदीमाथि रहेको झोलुङ्गे पुलमा क्षति पुगेपछि दोधारा–चाँदनीका स्थानीयमा चिन्ता बढेको छ। बुधबार पुलको करिब एक चौथाइ भागमा क्षति पुगेको देखिएपछि स्थानीयले विगतमा नेपालतर्फ सहज यातायात नहुँदाका दिन सम्झिन थालेका छन्।
हाल दोधारा–चाँदनीमा सडक तथा पुलको पूर्वाधार विस्तार भइसकेको छ। महाकालीमाथि चार लेनको पक्की पुलसमेत निर्माण भइसकेकाले आवतजावत तुलनात्मक रूपमा सहज छ। तर, स्थानीय तहमा सम्पर्क कायम राख्ने पुरानो झोलुङ्गे पुल अझै महत्त्वपूर्ण माध्यमका रूपमा प्रयोग हुँदै आएको छ।
पुलमा क्षति पुगेपछि स्थानीयलाई विगतको त्यो समय सम्झना भएको हो, जतिबेला दोधारा–चाँदनीबाट आफ्नै जिल्लाको सदरमुकाम महेन्द्रनगर पुग्नसमेत भारतको बाटो हुँदै जानुपर्ने बाध्यता थियो।
महेन्द्रनगर पुग्न भारतको बाटो
स्थानीयका अनुसार विगतमा दोधारा–चाँदनीबाट नेपालतर्फको आवतजावत निकै कठिन थियो। दैनिक उपभोगका सामान खरिद गर्नेदेखि उपचार, शिक्षा र अन्य कामका लागि समेत भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्था थियो।
स्थानीय हरिस भट्टका अनुसार महाकाली, जोगबुडा तथा विभिन्न खोलानालाले घेरिएको बस्तीबाट महेन्द्रनगर पुग्नु त्यतिबेला सहज थिएन।
उनले विगत सम्झँदै भने, ‘महेन्द्रनगर जानुपरे भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्था थियो। वर्षायाममा झन् समस्या हुन्थ्यो। अहिले यही पुलमा क्षति पुगेको देख्दा फेरि पुराना दिन सम्झना आएका छन्।’
उनका अनुसार दोधारा–चाँदनीमा बस्ती विस्तार हुँदै गए पनि लामो समयसम्म स्थानीयको दैनिकी भारतीय बजारसँग जोडिएको थियो।
अर्का स्थानीय रनवीर ठगुन्नाका अनुसार २०२२ सालतिर यस क्षेत्रमा बस्ती बस्न थालेको थियो। नेपालतर्फ सहज सम्पर्कको व्यवस्था नहुँदा महेन्द्रनगर पुग्न बनबासा हुँदै घुमेर जानुपर्ने अवस्था रहेको उनी बताउँछन्।
पुल बनेपछि बदलियो दैनिकी
महाकाली नदीमाथि २०५८ सालमा झोलुङ्गे पुल निर्माण भएपछि भने दोधारा–चाँदनीवासीको आवतजावतमा ठूलो परिवर्तन आयो।
पुल सञ्चालनमा आएपछि महेन्द्रनगरसँगको प्रत्यक्ष सम्पर्क सहज भयो। शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक आवश्यकताका लागि सदरमुकाम पुग्न स्थानीयलाई सहज हुन थाल्यो।
पुल निर्माणसँगै स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव परेको स्थानीय उमादेवी सिंह बताउँछिन्। मानिसको आवतजावत बढेपछि पुल आसपासका पसल तथा व्यवसायमा पनि चहलपहल बढेको उनको अनुभव छ।
‘पुल बनेपछि मानिसको आवतजावत बढ्यो। व्यापार पनि बढ्यो। पर्यटकहरू पनि आउँथे। अहिले पुलमा क्षति भएपछि समस्या सुरु भएको छ। यसको चाँडै मर्मत हुनुपर्छ,’ उनले भनिन्।
पुल आसपासका साना व्यवसायीहरू पनि यसको अवस्थाप्रति चिन्तित छन्। स्थानीय तथा पर्यटकको आवतजावतमा कमी आए त्यसको प्रत्यक्ष असर आफ्नो व्यवसायमा पर्ने उनीहरूको भनाइ छ।
नयाँ पूर्वाधारले फेरिएको दोधारा–चाँदनी
पछिल्ला वर्षमा दोधारा–चाँदनीको भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको छ। मुख्य सडकहरू कालोपत्रे भएका छन् भने विभिन्न नदी तथा खोलामा पक्की र झोलुङ्गे पुल निर्माण भएका छन्।
महाकालीमाथि बनेको चार लेनको पक्की पुलले दोधारा–चाँदनीलाई देशका अन्य भूभागसँग जोड्ने थप सहज विकल्प दिएको छ। वडा नम्बर १ मा सुक्खा बन्दरगाह निर्माणको कामसमेत अघि बढिरहेको छ।
सडक, पुल, सिँचाइ र अन्य पूर्वाधार विस्तारसँगै कुनै समय भारतको बजार र बाटोमा निर्भर रहेको स्थानीय जीवनशैलीमा पनि परिवर्तन आएको छ।
तर, पुरानो झोलुङ्गे पुलको आवश्यकता भने समाप्त भएको छैन। स्थानीय बस्ती, बजार तथा नदी किनारका क्षेत्र जोड्ने सम्पर्क मार्गका रूपमा यसको प्रयोग अझै हुँदै आएको छ। साथै, पुल पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्दै आएको छ।
प्रदेश सरकारको टोलीद्वारा निरीक्षण
क्षतिग्रस्त पुलको बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसहित प्रदेश सरकारको टोलीले निरीक्षण गरेको छ। टोलीमा भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल तथा आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर सहभागी थिए। नेकपा एमालेका नेता राजेन्द्रसिंह रावलले पनि पुलको अवस्थाबारे जानकारी लिएका थिए।
निरीक्षणपछि मुख्यमन्त्री भट्टले पुलको प्राविधिक अवस्था अध्ययन गरेर संघीय सरकारको प्रतिक्रियाका आधारमा आवश्यक कदम चालिने बताएका छन्।
भौतिक पूर्वाधार विकासमन्त्री भाटले दोधारा–चाँदनीलाई नेपालका अन्य क्षेत्रसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा पुलको भूमिका रहेको बताए। संघीय सरकारसँग समन्वय गरेर काम अघि बढाउने र आवश्यक परे प्रदेश सरकारले समेत मर्मत तथा निर्माणमा पहल गर्ने उनको भनाइ छ।
आर्थिक मामिला राज्यमन्त्री ऐरले पर्यटकीय महत्त्व बोकेको क्षेत्रमा रहेको पुलमा क्षति पुग्नु दुःखद भएको बताउँदै सम्बन्धित निकायसँग समन्वय गरेर मर्मतका लागि पहल गर्ने बताइन्। पर्यटनमन्त्री रावलले पनि पुलको कामलाई गति दिन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीयले भने पुलको तत्काल प्राविधिक परीक्षण गरी शीघ्र मर्मत गर्न माग गरेका छन्। उनीहरूका लागि यो पुल केवल आवतजावतको माध्यम नभई विगतको कठिन समयबाट अहिलेको सहज जीवनतर्फ भएको यात्राको एउटा महत्त्वपूर्ण प्रतीकसमेत हो।
