हिम्लुङ हिमपहिरोमा थप चार शव भेटिए, मृतकको संख्या १५ पुग्यो
काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुने आरोहीको संख्या १५ पुगेको छ। बिहीबार अपराह्न थप चार जनाको शव फेला परेपछि मृतकको संख्या १५ पुगेको हो।
खोज तथा उद्धारमा परिचालित टोलीले बिहीबार मात्रै आठ जनाको शव फेला पारेको टोली प्रमुख पासाङ काजी शेर्पाले जानकारी दिएका छन्। यसअघि बिहीबार नै चार जनाको शव फेला परेको थियो।
यसअघि बुधबार तीन जनाको शव भेटिएको थियो। उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव पहिचान गरेको थियो। आइतबार र सोमबार गरी थप चार जनाको शव फेला परेको थियो। ती शव वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको रहेको बताइएको छ।
असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ मा पर्ने हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। घटनापछि १६ जना आरोही सम्पर्कविहीन भएका थिए। तीमध्ये ११ जना भने हिमपहिरो गएको भोलिपल्ट सम्पर्कमा आएका थिए।
बिहीबार अपराह्नसम्म हराइरहेका १६ जनामध्ये १५ जनाको शव फेला परिसकेको छ। अब एक जना आरोही अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघले जनाएको छ।
आरोही पासाङ काजी शेर्पाको नेतृत्वमा ११ सदस्यीय टोली उद्धार तथा खोजीमा परिचालित छ। टोलीमा विक्रम कार्की, दावा जंबु शेर्पा, निगिमा टासी शेर्पा, बलराम गोम्बू, काजी शेर्पा, दा नोर्बु शेर्पा, दावा संगे शेर्पा, टार्के शेर्पा र दावा तेन्जी शेर्पा रहेका छन्।
हिमपहिरो गएको दिन असोज ११ गतेदेखि नै टोली खोजी तथा उद्धारमा सक्रिय छ। प्रतिकूल मौसमका कारण उद्धार कार्यमा चुनौती थपिएको टोली प्रमुख शेर्पाले बताएका छन्।
उद्धार गरिएका आठ शवमध्ये दुई शव चामेस्थित अस्पतालमा पुर्याइएको छ भने बाँकी ६ शव फूगाउँसम्म ल्याइएको नेपाली सेनाले जनाएको छ। शवहरू सेनाको हेलिकप्टरमार्फत सम्बन्धित स्थानमा स्थानान्तरण गरिएको हो।
