रोनाल्डोले अचानक छाडे पोर्चुगलको प्रशिक्षण शिविर
काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका छन्। उनले सामाजिक सञ्जालमार्फत शिविरबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका हुन्।
यद्यपि, रोनाल्डोले आफूले यस्तो निर्णय लिनुको वास्तविक कारण भने तत्काल सार्वजनिक गरेका छैनन्। उनले पोर्चुगिज फुटबल महासंघका अध्यक्षसँग भएको छलफलपछि शिविर छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्।
रोनाल्डोले समय आएपछि आफूले शिविर छाड्नुको कारणबारे पोर्चुगलका समर्थक र सर्वसाधारणलाई सत्य जानकारी दिने बताएका छन्। साथै, आगामी खेलका लागि राष्ट्रिय टोलीका सहकर्मीहरूलाई उनले शुभकामना दिएका छन्।
रोनाल्डोले शिविर छाड्नुअघि प्रशिक्षक जर्ज जिजसले टोलीभित्र कुनै विवाद नरहेको दाबी गरेका थिए। नर्वेविरुद्धको खेलमा रोनाल्डोलाई मैदानमा नउतारिएपछि उनी प्रशिक्षकसँग असन्तुष्ट रहेको र त्यसकै कारण मंगलबारको प्रशिक्षणमा सहभागी नभएको समाचार सार्वजनिक भएका थिए।
तर प्रशिक्षक जिजसले रोनाल्डोले प्रशिक्षण गर्न अस्वीकार गरेको भन्ने विवरण अस्वीकार गरेका थिए। उनका अनुसार रोनाल्डोले अन्य खेलाडीभन्दा अलग रहेर शारीरिक चलायमानता र मांसपेशी मजबुतीमा केन्द्रित व्यक्तिगत अभ्यास गरेका थिए।
जिजसले नर्वेविरुद्धको खेलअघि रोनाल्डोलाई सुरुवाती ११ मा नराख्ने निर्णयबारे जानकारी गराएको बताएका थिए। आवश्यक परे खेलको क्रममा उनलाई मैदानमा उतार्ने योजना भए पनि अन्ततः त्यसो नगरेको उनको भनाइ थियो।
नर्वेविरुद्ध पोर्चुगल २–१ ले विजयी भएको खेलमा गोन्सालो रामोसले निर्णायक गोल गरेका थिए। प्रशिक्षक जिजसले डेनमार्कविरुद्धको आगामी खेलमा पनि रामोसलाई रोनाल्डोभन्दा अघि प्राथमिकता दिन सकिने संकेत गरेका थिए।
नर्वेविरुद्धको खेल सकिएपछि पोर्चुगलका खेलाडीहरू समर्थकलाई अभिवादन गर्न जाँदा रोनाल्डो भने उनीहरूसँग गएनन् र सिधै ड्रेसिङ रुमतर्फ लागेका थिए। त्यसपछि पोर्चुगिज सञ्चारमाध्यममा रोनाल्डो र प्रशिक्षकबीच असन्तुष्टि रहेको चर्चा हुन थालेको थियो।
डेनमार्कविरुद्धको खेलका लागि टोली पार्केन रंगशाला पुगेका बेला रोनाल्डो दुई जना टोलीका कर्मचारीसँगै रंगशालाबाट बाहिरिएको भिडिओसमेत सार्वजनिक भएको थियो।
पोर्चुगिज फुटबल महासंघले पनि रोनाल्डोले प्रशिक्षण शिविर छाडेको पुष्टि गरेको छ। महासंघका अनुसार बाँकी २४ खेलाडीले डेनमार्क र नर्वेविरुद्धका खेलको तयारी पूर्वनिर्धारित कार्यक्रमअनुसार जारी राख्नेछन्।
यसअघि रोनाल्डोले आगामी विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने सम्भावनाबारे बताएका थिए। तर व्यावसायिक करिअरमा १ हजार गोल पूरा गर्ने लक्ष्यलाई निरन्तरता दिने निर्णयसँगै उनले खेल जीवनलाई अघि बढाउने बताएका थिए।
