सेतीवेणीमा बाढीको वितण्डा, घरदेखि व्यवसायसम्म ठूलो क्षति
पर्वत — कालीगण्डकी र सेतीखोलामा आएको भीषण बाढीले पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणी बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण दर्जनौँ घर तथा व्यवसायमा क्षति पुग्नुका साथै करोडौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको स्थानीयले बताएका छन्।
असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना रहे पनि स्थानीयले कालीगण्डकी र सेतीखोलाको जलस्तर बढिरहे पनि सामान्य बाढी आउने अनुमान गरेका थिए। शनिबार रातिसम्म दुवै नदी सामान्य अवस्थामै बगिरहेका थिए।
तर राति करिब १२ बजे सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको पानीको सतह अत्यधिक बढेको सूचना पुगेपछि प्रहरीले महत्वपूर्ण कागजात सुरक्षित गरी चौकी खाली गर्न थालेको थियो। आसपासका बासिन्दालाई समेत सुरक्षित स्थानमा जान आग्रह गरिएको केही समयमै दुवै खोलाको बाढी बजार क्षेत्रमा पसेको हो।
बाढीले पर्वततर्फ नौ वटा घर बगाएको र करिब ५० घर डुबानमा परेको स्थानीयले बताएका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–५ अन्तर्गतको बजार क्षेत्र पनि बाढीबाट नराम्ररी प्रभावित भएको छ। त्यहाँ करिब २५ वटा कच्ची तथा पक्की घर बग्नुका साथै ठूलो क्षेत्र बालुवा र गिटीले पुरिएको छ।
स्थानीय रेशमलाल न्यौपानेका अनुसार केही दिनअघिसम्म सामान्य अवस्थामा रहेको बजार अहिले बगरमा परिणत भएको छ। उनका अनुसार पर्वततर्फ घर तथा व्यवसायमा भएको क्षति जोड्दा करिब १० करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।
बाढीबाट प्रहरी चौकी, खाद्यान्न पसल, विद्युतीय सामग्री, भाँडाकुँडा, फेन्सी पसल र होटललगायत प्रभावित भएका छन्। नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारी तथा अन्य संस्थाका कार्यालयसमेत डुबानमा परेका छन्।
गुल्मीको अर्बेनीबाट सेतीवेणीमा आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाको करिब ३० लाख रुपैयाँ बराबरको सामान बाढीले नष्ट गरेको बताइएको छ। त्यस्तै, होटल व्यवसायी उमाकान्त न्यौपानेले घरसहित ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिएका छन्।
स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यति ठूलो बाढी पहिलोपटक देखेको बताए।
बाढीबाट विस्थापित भएका स्थानीयलाई बिहादी गाउँपालिकाले शालिग्राम माध्यमिक विद्यालयमा आश्रयको व्यवस्था गरेको छ। त्यहाँ उनीहरूका लागि बसोबास तथा खानाको प्रबन्ध गरिएको छ।
स्याङ्जातर्फ पनि करोडौँको क्षति
गल्याङ नगरपालिका–५ को बजार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। स्थानीयका अनुसार करिब २५ घरमा क्षति पुगेको छ भने बजार क्षेत्रमा बालुवा र ढुंगागिटी थुप्रिएको छ।
लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आएका खिमप्रसाद पौडेलले स्वदेशमै व्यवसाय गर्ने उद्देश्यले गरेको लगानी बाढीले एकैपटक नष्ट गरिदिएको बताए। उनका अनुसार पसलमा रहेका ५० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बाढीले बगाएको छ।
गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ भौतिक संरचनासहित स्थानीयको १५ करोड रुपैयाँभन्दा बढीको धनमालमा क्षति पुगेको छ।
बाढीले स्थानीय मन्दिर, सत्तल तथा शालिग्राम शिलासम्म पुग्ने पैदलमार्गलगायत धार्मिक तथा सार्वजनिक संरचनामा समेत क्षति पुर्याएको छ। स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रभावित परिवारलाई खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएको जनाइएको छ।
बाढीका कारण वर्षौँको मेहनत र लगानी गुमाएका स्थानीय अहिले रोजगारी तथा व्यवसायविहीन भएका छन्। अब सुरक्षित स्थानमा बसाइँ सर्ने कि जोखिमकै बीच पुनः घर तथा व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा उनीहरू अन्योलमा छन्।
शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालका अनुसार बजार क्षेत्र असुरक्षित बनेपछि स्थानीयलाई भविष्यमा कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ।
