त्रिविका परीक्षा केन्द्रमा अब सीसी क्यामरा अनिवार्य
काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभर सञ्चालन हुने वार्षिक परीक्षाका सबै केन्द्रमा सीसी क्यामरा जडान गर्नुपर्ने भएको छ।
त्रिविको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै परीक्षा केन्द्रमा अनिवार्य रूपमा सीसी क्यामरा राख्नुपर्ने व्यवस्था लागू गरिएको जनाएको हो। केन्द्रीय परीक्षा सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले यससम्बन्धी निर्णय गरेको कार्यालयले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार परीक्षा सञ्चालन हुने कक्ष, उत्तरपुस्तिका सिलबन्दी गरिने स्थान र परीक्षा केन्द्रको प्रवेशद्वार स्पष्ट देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्नेछ।
त्यसरी जडान गरिएका क्यामराले खिचेको दृश्यको रेकर्ड कम्तीमा ४५ दिनसम्म सुरक्षित राख्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
त्रिविले परीक्षा सञ्चालनलाई व्यवस्थित तथा निगरानीलाई प्रभावकारी बनाउन सबै केन्द्रले तोकिएको मापदण्डअनुसार क्यामरा जडान गर्नुपर्ने स्पष्ट पारेको छ।
निर्धारित व्यवस्था पालना नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाका लागि परिवर्तनसमेत गर्न सकिने कार्यालयले चेतावनी दिएको छ। यससँगै परीक्षा केन्द्र सञ्चालनका लागि सीसी क्यामरा व्यवस्थापनसमेत अनिवार्य शर्तका रूपमा अघि सारिएको छ।
