चिनियाँ राजदूत चाङ कोरला नाका हुँदै मुस्ताङमा, सीमा क्षेत्रको अवस्थाबारे जानकारी लिँदै
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित उत्तरी सीमा नाका कोरला हुँदै उपल्लो मुस्ताङ पुगेका छन्। शनिबार कोरला नाका पार गरेर लोमान्थाङ पुगेको टोलीले नाका तथा त्यससँग जोडिएको सडक पूर्वाधारको अवस्थाबारे स्थलगत जानकारी लिइरहेको छ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार राजदूत चाङसहितको टोली लोमान्थाङ पुगेको पुष्टि भएको छ। भ्रमणको विस्तृत कार्यक्रम जिल्ला प्रशासन कार्यालयलाई औपचारिक रूपमा प्राप्त नभए पनि टोलीको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको छ।
लोमान्थाङबाट टोली जिल्ला सदरमुकाम जोमसोमतर्फ आएको र प्रमुख जिल्ला अधिकारीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको भण्डारीले जानकारी दिए।
नेपाल–चीनबीचका प्रमुख उत्तरी नाका रसुवागढी र तातोपानी हाल बन्द रहेका बेला चिनियाँ राजदूतको कोरला भ्रमणलाई सीमा नाकाको अवस्थासँग जोडेर हेरिएको छ। भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी क्षेत्रको सडक तथा पूर्वाधारमा क्षति पुगेपछि रसुवागढी नाका अनिश्चितकालका लागि बन्द रहेको छ। त्यस्तै, अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण तातोपानी नाका पनि प्रभावित छ।
यसअघि चिनियाँ दूतावासका अधिकारीहरूले स्थलमार्गबाट तातोपानी नाकाको निरीक्षण गरेका थिए। त्यसपछि राजदूत चाङ नेतृत्वको टोली कोरला नाका हुँदै नेपाल प्रवेश गरी उक्त क्षेत्रको अवस्था बुझ्न मुस्ताङ आएको हो।
गत साताको भारी वर्षाका कारण कोरला नाका जोड्ने कालीगण्डकी करिडोरका विभिन्न खण्डमा समेत क्षति पुगेको थियो। सडक मर्मतपछि अहिले उक्त मार्ग सञ्चालनमा आएको बताइएको छ।
राजदूतको भ्रमणका क्रममा कोरला नाका, सडक पूर्वाधार तथा सीमा क्षेत्रको वर्तमान अवस्थाबारे स्थानीय प्रशासनसँग छलफल हुने अपेक्षा गरिएको छ।
