पर्यटन बोर्डले चालु वर्षका लागि १ अर्ब ७० करोडको बजेट सार्वजनिक गर्यो
काठमाडौं — नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ। आर्थिक वर्ष सुरु भएको तीन महिना पुग्न लाग्दा बोर्डले नयाँ बजेट कार्यान्वयनमा ल्याएको हो।
गत आर्थिक वर्ष बोर्डले १ अर्ब ५९ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर, त्यसको ५६ प्रतिशत अर्थात् ८९ करोड ४७ लाख रुपैयाँ मात्र खर्च भएको थियो। यसपटक भने अघिल्लो वर्षको तुलनामा बजेटको आकार ११ करोड रुपैयाँले बढाइएको छ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा बोर्डले १ अर्ब १६ करोड रुपैयाँ खर्च गरेको थियो। वर्तमान सरकारले विभिन्न नियुक्ति खारेज गरेपछि केही समय बोर्ड नेतृत्वविहीन बनेको थियो। नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति हुन नसक्दा बोर्डका रणनीतिक तथा दीर्घकालीन कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसकेको जनाइएको छ। दैनिक प्रशासनिक काममै बोर्ड बढी केन्द्रित हुँदै आएको छ।
पर्यटन सेवा शुल्कबाट मुख्य आम्दानीको लक्ष्य
बोर्डले चालु आर्थिक वर्षमा आम्दानीको प्रमुख स्रोतका रूपमा पर्यटन सेवा शुल्कलाई राखेको छ। यस शीर्षकबाट १ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
त्यस्तै, पदयात्रा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टीआईएमएस) शुल्कबाट ४ करोड ६६ लाख रुपैयाँ संकलन हुने प्रक्षेपण गरिएको छ।
बोर्डले सहभागिता योगदान, हल भाडा, ब्याजलगायत विविध आयका साथै बोर्डको सञ्चित रकम, टीआईएमएस सञ्चित रकम र टीआईएमएस संयुक्त खातामा रहेको रकमलाई पनि आम्दानीका स्रोतका रूपमा समेटेको छ।
कर्मचारी र कार्यालय खर्चमा पनि बजेट
बोर्डको प्रस्तावित बजेटमध्ये कर्मचारी व्यवस्थापनका लागि १५ करोड ६३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। त्यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १० करोड २१ लाख रुपैयाँ छुट्याइएको छ।
बजेटको आकार बढाइए पनि विगतमा विनियोजित रकमको ठूलो हिस्सा खर्च हुन नसकेको अवस्थामा यस वर्ष बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने चुनौती बोर्डसामु देखिएको छ।
