बूढीगण्डकीको बाढीले पुल र पदमार्ग बगाउँदा चुम उपत्यकामा ८० भन्दा बढी पर्यटक फसे
गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीका कारण पुल तथा पदमार्ग बगाएपछि गोरखाको चुम उपत्यका भ्रमणमा पुगेका ८० भन्दा बढी पर्यटक अलपत्र परेका छन्। आइतबार आएको बाढीले आवतजावतका मार्गमा क्षति पुर्याएपछि पर्यटकहरू गन्तव्यतर्फ जान नसकेका हुन्।
स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीका अनुसार बाटो अवरुद्ध भएपछि पर्यटकहरू त्रसित बनेका छन्। अलपत्र परेकामध्ये केहीलाई सोमबार बिहानैदेखि नेपाली सेनाको ठूलो हेलिकप्टरमार्फत उद्धार गर्न थालिएको उनले जानकारी दिए।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार हाल चुम उपत्यकामा ८० भन्दा बढी पर्यटक रहेका छन्। आवतजावत पूर्ण रूपमा प्रभावित भएपछि पर्यटकहरू चिन्तित बनेको छेकम्पारका होटल व्यवसायी दोर्जे लामाले बताए।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा फसेका पर्यटकको उद्धारलाई सहज बनाउन सरकारले हेलिकप्टर उडानका लागि छुट्टै अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार आपत्कालीन अवस्था आएमा पर्यटकका आफ्नै कम्पनीले उद्धार गर्न सक्नेछन्। अन्य अवस्थामा भने सरकारले आफ्नो कार्ययोजनाअनुसार उद्धार गर्नेछ।
शर्माले अहिले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका व्यक्तिहरूको उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।
