दसैँ यात्रामा तोकिएको भाडाभन्दा बढी असुले कारबाही हुने
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँको समयमा यात्रुसँग सरकारले निर्धारण गरेको भन्दा बढी भाडा नलिन यातायात व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिएको छ। तोकिएको दरभन्दा बढी रकम असुलेमा सम्बन्धित सवारीसाधनमाथि कारबाही गरिने महासंघले जनाएको छ।
महासंघका महासचिव डेकनाथ गौतमले चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले भाडा असुलीमा मनपरी नगर्न व्यवसायीलाई आग्रह गरेका छन्।
सरकारले असोज २३ गतेदेखि दसैँका लागि देशभर चल्ने यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ। यात्रुको आवतजावतलाई व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, मजदुर संगठन तथा सुरक्षा निकायबीच समन्वय गरिएको छ।
महासंघले आफ्ना सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा काठमाडौंको गोङ्गबु बसपार्कमा कार्यरत कर्मचारीलाई यात्रु व्यवस्थापन र टिकट बिक्रीसम्बन्धी आवश्यक निर्देशन दिएको छ।
टिकट काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्ने व्यवस्था गरिएको छ। यात्रुसँग शिष्ट व्यवहार गर्दै टिकट उपलब्ध गराउने तथा सुरक्षित यात्राका लागि आवश्यक सहजीकरण गर्न पनि महासंघले निर्देशन दिएको छ।
दसैँको भीड व्यवस्थापनका लागि घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। यद्यपि खाद्यान्न, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने आवतजावतमा रोक नलगाइने भएको छ।
यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ। सडकको अवस्थाका कारण निश्चित प्रकारका सार्वजनिक सवारीसाधनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहनेछ।
काठमाडौं उपत्यकाका प्रमुख प्रवेश नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षलाई थप प्रभावकारी बनाउन यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ। महासंघले पनि गोङ्गबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा प्रतिनिधि खटाउने जनाएको छ।
चाडपर्वमा दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको फिटनेस परीक्षणलाई समेत प्राथमिकता दिइएको छ। टेकुस्थित सवारी परीक्षण कार्यालयबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ।
महासंघले दसैँमा ठूलो संख्यामा घर फर्किने यात्रुलाई लक्षित गर्दै टिकट बिक्री, भाडा, सवारीसाधनको अवस्था र यात्रु सेवामा कुनै किसिमको लापरबाही नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
