करोडौँ खर्चिए पनि फेरिएन सुकेश्वर पोखरीको मुहार
जलेश्वर — महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगा भवानीपट्टीस्थित ऐतिहासिक सुकेश्वर पोखरी र सुकेश्वर महादेव मन्दिरको विकास तथा सौन्दर्यकरणमा वर्षौँदेखि सरकारी बजेट खर्च हुँदै आए पनि अपेक्षित उपलब्धि देखिएको छैन। निर्माण गरिएका संरचना अधुरा र कतिपय जीर्ण बनेपछि स्थानीयवासीले लगानीको सदुपयोगमाथि प्रश्न उठाएका छन्।
शुकदेव ऋषिको तपोभूमिका रूपमा चिनिने यो क्षेत्र धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। सुकेश्वर महादेव मन्दिर र पोखरीमा महाशिवरात्रि, साउनका सोमबार तथा विवाह पञ्चमीलगायतका अवसरमा श्रद्धालु र दर्शनार्थी पुग्ने गरेका छन्।
यही धार्मिक तथा ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै प्रदेश सरकार र जलेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि विभिन्न शीर्षकमा सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्दै आएका छन्। पोखरीका घाट, शौचालय, धर्मशाला, पार्क, बत्ती तथा अन्य संरचना निर्माण गर्ने योजना अघि सारिए पनि धेरै काम अधुरै छन्।
बनेका घाट पनि प्रयोग गर्न कठिन
पोखरीको चारैतिर पक्की घाट बनाउने योजना भए पनि हालसम्म केही सीमित स्थानमा मात्रै घाट निर्माण भएका छन्। स्थानीयका अनुसार निर्माण भएका घाटका सिँढीसमेत प्रयोग गर्न सहज छैनन्।
स्थानीय ७३ वर्षीय उमेश तिवारीका अनुसार पोखरीका सबै किनारमा व्यवस्थित घाट निर्माण गर्ने भनिए पनि ५–६ वटा घाट मात्रै बनाइएका छन्।
‘घाटबाट पोखरीमा पस्न पनि समस्या छ र बाहिर निस्कन पनि कठिन हुन्छ,’ तिवारीले भने।
शौचालय निर्माणको कामसमेत अधुरै रहेको उनको भनाइ छ। उनका अनुसार बजेट आएर निर्माण सुरु भए पनि अहिले त्यसको उपलब्धि देखिने अवस्था छैन।
१ करोड ६८ लाख खर्च, संरचना भने अपूरा
स्थानीयवासीका अनुसार आर्थिक वर्ष २०७८ मा प्रदेश सरकारबाट मन्दिर तथा पोखरी सौन्दर्यकरणका लागि १ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर उक्त रकमबाट अपेक्षित काम नभएको उनीहरूको गुनासो छ।
धर्मशालाका लागि निर्माण गरिएको संरचना जीर्ण बन्दै गएको छ भने शौचालयका लागि बनाइएको भवनसमेत झाडीले ढाकिएको छ।
सौन्दर्यकरण योजनामा पोखरी वरिपरि हरियाली पार्क, बस्ने बेन्च, सडकबत्ती र सोलार लाइट जडान गर्ने योजना पनि समेटिएको स्थानीय बताउँछन्। तर तीमध्ये अधिकांश योजना कार्यान्वयनमा नआएको उनीहरूको भनाइ छ।
स्थानीय सन्तोष चौधरीले घाटका सिँढी अत्यन्त साँघुरा बनाइएको बताए। उनका अनुसार व्यवस्थित स्नानघाटका लागि सिँढी पर्याप्त चौडा हुनुपर्नेमा अहिले बनेको संरचना त्यसका लागि उपयुक्त छैन।
‘निर्माणअघि नै हामीले घाटलाई चौडा र व्यवस्थित बनाउन आग्रह गरेका थियौँ। तर हाम्रो सुझाव सुनिएन,’ चौधरीले भने।
योजना धेरै, काम अधुरै
स्थानीयका अनुसार पोखरी परिसरमा उद्यान, पानीको फोहोरा, शवदाहका लागि घाट तथा अन्य संरचना बनाउने योजना पनि अघि सारिएको थियो। तर तीमध्ये धेरै काम कागजमै सीमित रहेको उनीहरूको गुनासो छ।
स्थानीय छेनी पासवानका अनुसार निर्माणका क्रममा ठेकेदारले काम बीचमै छाडेका कारण केही निर्माण सामग्री अझै परिसरमै अलपत्र अवस्थामा छन्।
‘पोखरीको चारैतिर घाट र शौचालय बनाउने भनिए पनि काम पूरा भएन,’ उनले भने।
बनेका संरचना पनि जीर्ण
सुकेश्वर महादेव मन्दिरका पुजारी हरिकान्त चौधरीका अनुसार ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थल भए पनि संरक्षण र व्यवस्थापनमा पर्याप्त ध्यान पुगेको छैन।
उनका अनुसार निर्माण भएका केही संरचना पनि अहिले भत्किन थालेका छन्। कतिपयमा खिया लागेको छ भने नियमित मर्मतसम्भारको अभाव देखिन्छ।
‘काम हुँदै नभएको होइन, तर बनेका संरचना पनि अधुरा छन्। बनेका केही पूर्वाधारसमेत अहिले जीर्ण भइसकेका छन्,’ उनले भने।
उनले सरकारले बजेट विनियोजन गरेपछि निर्माणको गुणस्तर र कामको प्रगतिबारे प्रभावकारी अनुगमन गर्नुपर्ने बताए।
स्थानीय तहबाट पनि पटक–पटक बजेट
प्रदेश सरकारसँगै जलेश्वर नगरपालिकाले पनि विभिन्न आर्थिक वर्षमा सुकेश्वर पोखरी तथा मन्दिरको सौन्दर्यकरणका लागि छुट्टाछुट्टै बजेट विनियोजन गर्दै आएको स्थानीय बताउँछन्।
तर वर्षौँदेखि बजेट खर्च भइरहे पनि पोखरीको अवस्था उल्लेख्य रूपमा सुधार हुन नसकेको उनीहरूको गुनासो छ।
स्थानीयवासीले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणका नाममा छुट्याइएको रकम पारदर्शी ढंगले खर्च गर्न, निर्माण भएका संरचनाको गुणस्तर जाँच गर्न र अधुरा योजनालाई पूरा गर्न माग गरेका छन्।
उनीहरूका अनुसार पर्याप्त बजेट खर्च भएको देखिए पनि त्यसअनुसारको भौतिक उपलब्धि नदेखिनु नै अहिले सुकेश्वर पोखरीको मुख्य समस्या बनेको छ।
