दसैँमा परिवारबाट टाढा, व्यापारको यात्रामा साइपालका भेडाच्याङ्ग्रा व्यापारी
भूमिराज पिठातोली/रासस
बझाङ । दसैँ भन्नासाथ परिवारसँगको भेटघाट, आमाको हातबाट टीका–जमरा र आफन्तसँग खुसी साटासाट गर्ने क्षण सम्झिन्छन् धेरैले। तर बझाङको साइपाल गाउँपालिकाका केही व्यापारीका लागि दसैँ घरमा रमाउने समय होइन, भेडाच्याङ्ग्रा बोकेर बजारतर्फ लाग्ने व्यस्त मौसम हो।
साइपाल गाउँपालिका–१ धलौनका घुरनबहादुर बोहरा यसको उदाहरण हुन्। दसैँमा आमाको हातबाट टीका नथापेको उनलाई १५ वर्षभन्दा बढी भइसकेको छ। घरमा आमा, परिवार र आफन्त भए पनि व्यापारको जिम्मेवारीले उनलाई हरेक वर्ष पोखरा र काठमाडौंका बजारसम्म पुर्याउँछ।
हिमाली भेगमा पालिएका भेडाच्याङ्ग्राको मासु दसैँमा सहरका भान्सामा पाक्छ। तर ती पशु बजारसम्म पुर्याउने व्यापारी भने आफ्नै घरको दसैँमा सहभागी हुन पाउँदैनन्। उनीहरूकै मेहनतले उपभोक्ताले चाडपर्वमा भेडाच्याङ्ग्राको मासु खान पाउँछन्, तर उनीहरूका लागि चाडको खुसी फोनकल र टाढाबाट दिइने शुभकामनामै सीमित हुन्छ।
‘घरको एक्लो छोरो, त्यो पनि घर नहुँदा आमालाई दसैँ आएजस्तो नै लाग्दैन। परिवारको मुख्य व्यक्ति नहुँदा चाडपर्व टाढिएकै जाती भन्छन्,’ घुरनबहादुर सुनाउँछन्।
साइपाल गाउँपालिका–२ धलौनका उज्ज्वल बोहराको कथा पनि उस्तै छ। उनले पनि डेढ दशकदेखि दसैँ–तिहार परिवारसँग बसेर मनाउन पाएका छैनन्। वर्षभरिमै राम्रो आम्दानी हुने समय भएकाले चाडपर्वमा घर फर्किनुभन्दा व्यापारलाई प्राथमिकता दिनुपर्ने बाध्यता छ।
‘वर्षभरिको आम्दानी हुने चाडबाडको बेला दसैँ सम्झेर घरमै बस्न सकिँदैन। परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ,’ उज्ज्वल भन्छन्।
घुरन, उज्ज्वल, राजेन्द्र र सुरेन्द्रजस्ता व्यापारी तथा सहयोगी साइपालमा सय जनाभन्दा बढी छन्। साइपालबाट भेडाच्याङ्ग्रा लिएर पोखरा र काठमाडौं जानेको सङ्ख्या डेढ सयभन्दा बढी रहेको व्यापारीहरू बताउँछन्। ट्रक चालक बजार पुगेको भोलिपल्टै फर्किए पनि पशुका मालिक र सहयोगीलाई बिक्रीको काम सक्न समय लाग्छ। यसरी उनीहरूको दसैँ–तिहार प्रायः यात्रामै बित्छ।
साइपाल–१ का रमेश धामीका अनुसार बीच बाटोमा कसैले टीका लगाइदिएमा कानमा जमरा सिउरेर भए पनि चाड मनाएको अनुभूति हुन्छ। अन्यथा निधारमा टीका र कानमा जमरा नलगाई दसैँ बित्ने गरेको छ। परिवारसँगको भेटघाट र सामूहिक खुसी व्यापारको व्यस्तताले टाढा पुर्याएको उनको अनुभव छ।
सहयोगीबाट आफ्नै व्यवसायीसम्म
साइपालबाट व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा पोखरा पठाउने क्रम २०६८ सालदेखि सुरु भएको हो। त्यसअघि यहाँका युवा मुगु, हुम्ला र जुम्लाका व्यापारीसँग सहयोगीका रूपमा पोखरा जाने गर्थे। स्थानीय भेडाच्याङ्ग्रा खरिद गर्न आउने व्यापारीलाई पशुको हेरचाह र ढुवानीमा सघाउने जनशक्ति आवश्यक पर्थ्यो।
घुरनबहादुर पनि २०६४ सालमा सहयोगीका रूपमा पोखरा पुगेका थिए। त्यही अनुभवले उनलाई पछि आफ्नै व्यवसाय सुरु गर्न प्रेरित गर्यो।
‘म सुरुमा २०६४ सालमा सहयोगीका रूपमा पोखरा पुगेको थिएँ। मुगु, हुम्ला, जुम्लाका व्यापारी हाम्रै भेडाच्याङ्ग्रा किन्न आउँथे। भेडासँगै सहयोगी पनि खोज्थे,’ उनी भन्छन्।
सहयोगीका रूपमा चार वर्ष काम गर्दा पशु खरिद, ढुवानी र बिक्रीसम्बन्धी अनुभव बटुलेपछि उनले आफ्नै टोली बनाएर भेडाच्याङ्ग्रा व्यापार सुरु गरे।
व्यवसायको सुरुवाती चरणमा कर्णालीका विभिन्न जिल्ला हुँदै भेडाच्याङ्ग्रा पैदलै पोखरा पुर्याउनुपर्थ्यो। बाटोमा बेच्दै र यात्रा गर्दै गन्तव्य पुग्न एक महिनासम्म लाग्ने गरेको उनी बताउँछन्। अहिले भने ट्रकबाट ढुवानी गर्न थालिएको छ।
उच्च हिमाली क्षेत्रमा प्राकृतिक घाँस र जडीबुटी खाएर हुर्किएका भेडाच्याङ्ग्राको मासु पोखरामा लोकप्रिय बन्दै गएको व्यापारीहरूको अनुभव छ। पोखराबाट सुरु भएको बजार अहिले काठमाडौंसम्म विस्तार भएको साइपाल–१ का व्यापारी राजेन्द्रबहादुर धामी बताउँछन्। माग बढेसँगै कतिपय ग्राहक व्यापारी पुग्न ढिला भए पनि पर्खिने गरेका छन्।
यसले हिमाली क्षेत्रका पशुपालक तथा व्यापारीलाई गाउँबाहिरका बजारमा आफ्नो उत्पादन पुर्याउने अवसर दिएको छ।
बजारसम्मको यात्रा सहज छैन
बझाङबाट पोखरा भेडाच्याङ्ग्रा पुर्याउन सामान्यतया पाँच दिन लाग्छ। अवस्था प्रतिकूल भएमा एक सातासम्म पनि बाटोमै बित्न सक्छ। पशुलाई लगातार गाडीमा राखेर लैजान नसकिने भएकाले बिहानदेखि दिनभर नजिकका वन तथा चरन क्षेत्रमा चराउनुपर्छ। साँझ परेपछि मात्रै गाडीमा राखेर यात्रा अघि बढाइन्छ।
साइपालका व्यापारीका अनुसार यस वर्ष गाउँपालिकाबाट ३८ ट्रक भेडाच्याङ्ग्रा पोखरा र काठमाडौं पठाइएको छ। गत वर्ष २८ ट्रक पठाइएको थियो। बझाङ जिल्लाभरबाट भने करिब ६० ट्रक भेडाच्याङ्ग्रा निर्यात हुने गरेको छ।
एउटा ट्रकमा औसत ६५ वटा भेडाच्याङ्ग्रा अटाउने व्यापारीहरूको भनाइ छ। यस आधारमा साइपालबाट यस वर्ष पठाइएका ३८ ट्रकमा करिब दुई हजार ४७० वटा भेडाच्याङ्ग्रा ढुवानी भएका छन्।
साइपाल गाउँपालिकाले निर्यात गरिने प्रतिगोटा भेडाच्याङ्ग्राबाट १०० रुपैयाँका दरले राजस्व सङ्कलन गर्दै आएको छ। गाउँपालिकाका नायब प्राविधिक सहायक सुमन सिंहका अनुसार कार्यपालिकाको निर्णयअनुसार उक्त राजस्व लिने गरिएको हो।
बझाङका सुर्मा, छविसपाथिभेरा, बुङ्गल नगरपालिका, मस्टा, साइपाल र तलकोट गाउँपालिकाले पनि भेडाच्याङ्ग्रा निर्यातबाट राजस्व सङ्कलन गर्ने गरेका छन्। पशुको सङ्ख्या यकिन गरी आवश्यक कागजात र पालिकाको सिफारिसपछि निर्यात प्रक्रिया अघि बढाइन्छ।
लगानी ठूलो, नाफाको निश्चितता छैन
भेडाच्याङ्ग्रा व्यापारमा आम्दानीको सम्भावना भए पनि जोखिम उत्तिकै छ। साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीका अनुसार एउटा भेडाच्याङ्ग्रालाई बजारसम्म पुर्याउँदा पाँच हजार रुपैयाँसम्म अतिरिक्त खर्च लाग्न सक्छ।
गाउँमै एउटा भेडाच्याङ्ग्रा खरिद गर्न २५ हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च हुन्छ। त्यसपछि ढुवानी, चरिचरन, खाना, कामदार र बाटोका अन्य खर्च थपिन्छन्। यति धेरै लगानी गरेपछि पनि बजारमा अपेक्षित मूल्य नपाउँदा व्यापारी घाटामा जानुपर्ने अवस्था आउँछ।
‘२५–३० हजार रुपैयाँसम्ममा भेडाच्याङ्ग्रा खरिद गर्नुपर्छ। तर बजारमा कहिलेकाहीँ राम्रो मूल्य नपाउँदा निकै घाटा व्यहोर्नुपर्ने हुन्छ,’ धामी भन्छन्।
बजारमा पशुको गुणस्तरबारे नकारात्मक हल्ला फैलिँदा पनि व्यापार प्रभावित हुने गरेको छ। धामीका अनुसार अघिल्लो वर्ष बझाङबाट लगिएका च्याङ्ग्रा वास्तविक नभएको भन्ने अफवाह फैलिएपछि बिक्रीमा समस्या भएको थियो। त्यसबेला व्यापारीले लिलामीसरह मूल्यमा पशु बेचेर फर्किनुपरेको उनले बताए।
आर्थिक जोखिमसँगै बाटोमा पशुको हेरचाह गर्नु अर्को चुनौती हो। लामो यात्राका क्रममा चरनको व्यवस्था गर्न स्थानीयसँग अनुमति लिनुपर्छ। कतिपय स्थानमा चरिचरनबापत रकम तिर्नुपर्छ। तर रकम तिरेर पनि सहज वातावरण नपाइने व्यापारीहरूको गुनासो छ।
‘चराउन नपाए भेडाच्याङ्ग्रा बाटोमै मर्छन्। कतै बिरामी हुन्छन्। त्यस्तो अवस्थामा सबै नोक्सान हुन्छ। बाटोमा चरिचरन गर्दा स्थानीयबाट अपमान सहनुपर्छ, गाली सहनुपर्छ,’ धामी भन्छन्।
ढुवानीका क्रममा सुरक्षा निकायबाट पनि अनावश्यक झन्झट बेहोर्नुपरेको व्यापारीहरूको गुनासो छ। आवश्यक कागजात तयार गरेर हिँडे पनि बाटोमा विभिन्न कागजातमा त्रुटि देखाएर दुःख दिने गरिएको उनीहरू बताउँछन्।
घुरनबहादुरका अनुसार जिल्लाबाहिर पशु लैजाँदा आवश्यक कागजात तयार पारिन्छ। तर यात्राका क्रममा लाइसेन्स, बिलबुक वा अन्य कागजातमा कमजोरी देखाउँदै रोक्ने र झमेलामा पार्ने गरिएको छ।
पशुको स्वास्थ्य परीक्षणपछि मात्रै निर्यात
ठूलो सङ्ख्यामा भेडाच्याङ्ग्रा लामो दूरीसम्म ढुवानी गर्दा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। विभिन्न स्थानमा पशुको जमघट र लामो यात्राका कारण रोग तथा सङ्क्रमण फैलिने जोखिम रहने भएकाले स्वास्थ्य परीक्षण गरेर मात्रै निर्यात गर्ने गरिएको छ।
पशु चिकित्सक डा. रवि थारूका अनुसार भेडाच्याङ्ग्रा पठाउनुअघि परीक्षण गरिन्छ। आवश्यक औषधि र प्राथमिक उपचारको व्यवस्था मिलाउनुका साथै व्यवसायीसँग हुनुपर्ने कागजात पनि जाँच गरिन्छ।
‘यति ठूलो मात्रामा पठाउँदा बिनापरीक्षण पठाएमा कुनै सङ्क्रमण वा रोग फैलिन सक्छ। त्यसैले पशुको परीक्षण, प्राथमिक उपचारका लागि औषधि र व्यवसायीसँग आवश्यक कागजात सबै पूरा गरेपछि मात्रै पठाउँछौँ,’ थारू भन्छन्।
स्वास्थ्य परीक्षण र उचित हेरचाहले पशुमा रोग फैलिने सम्भावना घटाउन तथा उपभोक्तासम्म स्वस्थ पशु पुर्याउन मद्दत गर्छ।
दसैँमा सहरका घरमा खुसी र स्वाद थप्ने भेडाच्याङ्ग्रा बजारसम्म पुर्याउन साइपालका व्यापारीले वर्षौँदेखि निरन्तर श्रम गर्दै आएका छन्। उनीहरूको व्यापारले हिमाली उत्पादनलाई ठूला बजारसँग जोडेको छ र स्थानीय अर्थतन्त्रमा योगदान पुर्याएको छ। तर यही व्यवसायका कारण उनीहरू आफ्नै घरको चाडपर्वबाट टाढा छन्।
अरूका भान्सामा दसैँको रौनक बढाइरहेका यी व्यापारीका लागि भने दसैँ अझै पनि घर फर्किनेभन्दा घर छाड्ने समय बनेको छ।
