बुढीगण्डकीको बाढीले पदमार्गमा व्यापक क्षति, सबै पर्यटक सुरक्षित
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले मनास्लु क्षेत्रका पदमार्गमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण आवागमन प्रभावित भए पनि उक्त क्षेत्रमा पदयात्रामा रहेका स्वदेशी तथा विदेशी सबै पर्यटक सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार बाढीले विभिन्न स्थानका पदमार्ग क्षतिग्रस्त बनाउनुका साथै सार्दीभिरमा रहेको क्यान्टिलिभर झोलुङ्गे पुल पूर्ण रूपमा बगाएको छ। पुल बगेपछि माछाखोलाबाट जगत हुँदै जाने पदमार्ग अवरुद्ध भएको छ।
बाढीका कारण सोती, खोर्लाबेँसी, तातोपानी, यारु बगर, जगत बगर र सल्लेरी क्षेत्रका पदमार्गमा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा अलपत्र परेका मानिसको उद्धारका लागि नेपाल सरकारको सहयोगमा काम भइरहेको जनाइएको छ।
पदमार्गमा भएको क्षतिका कारण चुम भ्यालीको पदयात्रा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। आयोजनाले क्षतिग्रस्त बाटोको मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
यद्यपि, लार्केपास जाने पदयात्रीका लागि वैकल्पिक व्यवस्था रहेको छ। हेलिकप्टरबाट सिधै फिलिम पुग्न सकिने र त्यहाँबाट लार्केपाससम्मको पदमार्ग खुला तथा सुरक्षित रहेको आयोजनाले जनाएको छ। तर माछाखोलादेखि जगतसम्म र सल्लेरी हुँदै जाने बाटो भने क्षतिग्रस्त अवस्थामा छ।
मौसमको अवस्था र क्षतिको प्रकृतिका आधारमा पदमार्ग मर्मत गरी पुनः सञ्चालनमा ल्याउन समय लाग्न सक्ने देखिएको छ।
आयोजनाले पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म चुम भ्यालीको यात्रा नगर्न आग्रह गरेको छ। साथै, क्षतिग्रस्त पदमार्ग र जोखिमयुक्त नदी क्षेत्रमा प्रवेश नगर्न तथा असुरक्षित बाटोबाट नदी पार गर्ने प्रयास नगर्न पनि सचेत गराएको छ।
