पर्यटक भिसामा धार्मिक गतिविधि गरेको आरोपमा २४ कोरियाली नागरिक निष्कासित, तीन वर्ष नेपाल प्रवेशमा रोक
विराटनगर । पर्यटक भिसाको सर्त उल्लङ्घन गर्दै मोरङमा धार्मिक प्रचार तथा पास्टर उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेको ठहर भएपछि २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ। अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्नुका साथै जनही ५० हजार रुपैयाँ जरिवाना तिराएर तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको हो।
विभागका अनुसार पर्यटक भिसामा रहेर गर्न नपाइने धार्मिक शिक्षा, प्रशिक्षण तथा प्रचारका गतिविधिमा संलग्न भएको पाइएपछि उनीहरूमाथि कारबाही गरिएको हो। उनीहरूको नेपाल बसाइ र गतिविधि शंकास्पद देखिएको तथा भिसाको उद्देश्यविपरीत काम गरेको निष्कर्ष निकाल्दै विभागले निष्कासन र पुनः प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ।
कोरियाली नागरिकहरू मोरङको सुन्दरहरैँचा नगरपालिका–७, मालाती मार्गस्थित ‘नेपाल न्यू कोभेनेन्ट कलेज’मा धार्मिक तालिम, प्रशिक्षण र दीक्षान्त समारोह सञ्चालन गर्ने तयारीमा थिए। उक्त गतिविधिबारे सूचना प्राप्त भएपछि स्थानीय प्रशासन र प्रहरीले निगरानी बढाएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रशासन कार्यालय मोरङले ‘विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५’ को दफा ४.६ को उपदफा (२) र (३) अनुसार कारबाहीका लागि असोज २३ गते उनीहरूलाई काठमाडौंस्थित अध्यागमन विभागमा पठाएको थियो। भिसाको म्याद बाँकी रहे पनि पर्यटक भिसामा अनुमति नपाइने गतिविधिमा संलग्न भएको ठहर गर्दै विभागले भिसा रद्द गरेको हो।
कारबाहीमा पर्नेमा दक्षिण कोरियास्थित ‘लभ नेपाल मिसन’का प्रमुख डा. पार्क गुइ ह्वानसहित २४ जना छन्।
दुई समूहमा विराटनगर पुगेका थिए कोरियाली नागरिक
उनीहरू असोज २० र २१ गते काठमाडौं हुँदै बुद्ध र यती एयरलाइन्सबाट दुई समूहमा विराटनगर पुगेका थिए। पहिलो दिन १६ जना र दोस्रो दिन आठ जना विराटनगर विमानस्थल ओर्लिएका थिए। त्यसपछि सबै जना सुन्दरहरैँचास्थित नेपाल न्यू कोभेनेन्ट कलेज पुगेका थिए।
समूहका छ जना सुन्दरहरैँचा–९ स्थित नेपालरिका होटलमा बसेका थिए भने अन्य १८ जना कलेजको छात्रावासमा बसेको विवरणमा उल्लेख छ। उनीहरूले अक्टोबर १२ सम्म विभिन्न चरणमा धार्मिक गोष्ठी, तालिम र दीक्षान्त समारोह सञ्चालन गर्ने योजना बनाएको बताइएको छ। स्थानीय बासिन्दा र सुरक्षा निकायको सक्रियतापछि उक्त कार्यक्रम अघि बढ्न सकेन।
शैक्षिक अनुमति र संस्थाको दर्ताबारे पनि प्रश्न
सुन्दरहरैँचा–७ मा करिब एक बिघा एक कठ्ठा क्षेत्रफलमा फैलिएको नेपाल न्यू कोभेनेन्ट कलेजमा दुईतले पक्की भवन र २२ वटा कोठा छन्। समाचारमा उल्लेख भएअनुसार, संस्थाले सरकारी शैक्षिक निकायबाट आवश्यक अनुमति नलिई सञ्चालन गरेको विषय पनि अनुसन्धानको दायरामा आएको छ।
संस्थालाई ‘रत्न बाप्टिस फाउन्डेसन’ नामक सामाजिक तथा धार्मिक गुठीका रूपमा बेलबारी मालपोत कार्यालयमा दर्ता गरिएको पाइएको बताइएको छ। त्यही संस्थाअन्तर्गत ‘बाइबेल एकेडेमी’ सञ्चालन गरी सर्टिफिकेट अफ थियोलोजी, ब्याचलर्स अफ थियोलोजी र मास्टर्स अफ थियोलोजीदेखि विद्यावारिधिसम्मका धार्मिक पाठ्यक्रम पढाउने गरिएको विवरणमा उल्लेख छ।
कलेजमा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र हिमाल, पहाड तथा तराईका दुर्गम क्षेत्रका विपन्न परिवारका करिब ४५ विद्यार्थीलाई छात्रावासमा राखेर न्यून शुल्कमा धार्मिक शिक्षा दिइँदै आएको जनाइएको छ।
उक्त संस्था दक्षिण कोरियास्थित ‘लभ नेपाल मिसन’को आर्थिक सहयोगमा सञ्चालन हुँदै आएको बताइएको छ। यसको व्यवस्थापनमा धरानका महेन्द्र गंग सचाइ राई र दुहबी–५ का डा. शरद केसीलगायत व्यक्ति संलग्न रहेको विवरणमा उल्लेख छ।
धार्मिक संस्था विस्तारबारे अनुसन्धान
सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानले मोरङको उत्तरी क्षेत्रका सुन्दरहरैँचा, लेटाङ र मिक्लाजुङलगायत स्थानमा कोरियाली नागरिकको लगानी तथा योजनामा चर्च, संस्था र कलेज स्थापना गरी पास्टर उत्पादन गर्ने गतिविधि सञ्चालन भइरहेको हुन सक्ने देखाएको छ।
यसअघि २०८० चैत २० गते पनि ३९ जना दक्षिण कोरियाली नागरिक पर्यटक भिसामा नेपाल आएर यही कलेजको दीक्षान्त समारोहमा सहभागी भएको समाचारमा उल्लेख छ। त्यतिबेला दुई जना कोरियाली नागरिकलाई पठनपाठनका लागि नेपालमै राखेर अन्य नागरिक फर्किएका थिए।
नेपालको अध्यागमन कानुनअनुसार पर्यटक भिसामा आएका विदेशी नागरिकले भिसाको उद्देश्यविपरीत गतिविधि गर्न पाउँदैनन्। धार्मिक प्रचार, तालिम वा पेसागत अध्यापनमा संलग्न भएको ठहर भएपछि यसपटक २४ जना कोरियाली नागरिकमाथि भिसा रद्द, जरिवाना र तीन वर्षे प्रवेश प्रतिबन्धसहितको कारबाही गरिएको हो।
