नेपालबाट मनसुन बाहिरियो, यस वर्ष १२ दिन ढिलो
काठमाडौं । यस वर्षको मनसुन बुधबारदेखि नेपालका सबै भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिने प्रक्रिया गत असोज १७ गतेदेखि सुरु भएको थियो। यस वर्ष मनसुन विगतका वर्षको तुलनामा १२ दिन ढिलो गरी बाहिरिएको हो।
महाशाखाले बुधबार सूचना जारी गर्दै नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।
मनसुन बाहिरिएसँगै वर्षायाम अन्त्य भएको संकेत मिले पनि मौसममा अन्य वायुप्रणालीको प्रभाव भने कायमै रहनेछ। महाशाखाका अनुसार हाल स्थानीय वायु र पश्चिमी वायुको प्रभाव जारी छ।
यी वायुप्रणालीका कारण मनसुन बाहिरिएपछि पनि केही स्थानमा मौसम परिवर्तन हुन सक्ने भएकाले मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन आवश्यक रहेको छ।
