पोखरा–दुबई उडानको टिकट बुकिङ सन् २०२७ अक्टोबरसम्म खुला
गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई–पोखरा हवाई सेवाका लागि सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ। बुकिङ अवधि विस्तार भएसँगै पोखराका पर्यटन व्यवसायीमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने आशा थप बलियो बनेको छ।
गत असोज ७ गतेदेखि सुरु भएको यस उडानका लागि सुरुमा छ महिनाको टिकट बुकिङ खुलाइएको थियो। तर, पछिल्लो समय सन् २०२७ अक्टोबर ३० सम्मको बुकिङ खुलाइएपछि पोखराको पर्यटन क्षेत्र उत्साहित बनेको हो।
फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले उडान सुरु भएदेखि यात्रुको उत्साहजनक सहभागिता देखिएकाले बुकिङ अवधि थपिएको बताए। उनका अनुसार आगामी वर्षसम्म टिकट बुकिङ खुला हुनु पोखराका पर्यटन व्यवसायीका लागि सकारात्मक संकेत हो। उडानलाई नियमित र दीर्घकालीन बनाउन पर्यटन क्षेत्रसहित सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए।
चाडपर्वको समय भएकाले हाल दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जाने यात्रुको संख्या कम रहेको व्यवसायीहरूको भनाइ छ। चाडपर्व सकिएपछि पोखराबाट दुबई जाने यात्रुको संख्या बढ्ने अपेक्षा गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार असोज ७ गतेयता खराब मौसमका कारण एक उडान रद्द भए पनि अन्य दिनमा सेवा नियमित सञ्चालन भइरहेको छ। निर्धारित तालिकाअनुसार फ्लाई दुबईको जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र साँझ ७ः१५ बजे दुबईका लागि उडान भर्ने गरेको छ।
गत सोमबारसम्म उपलब्ध विवरणअनुसार फ्लाई दुबईमार्फत दुबईबाट पोखरा तीन हजार ११३ यात्रु आएका छन् भने पोखराबाट एक हजार ४२३ यात्रु दुबई गएका छन्। यात्रु आवागमनको यो विवरणले पोखरा र दुबईबीचको हवाई सम्पर्कले गति लिन थालेको देखाउँछ।
पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना
उडानलाई प्रभावकारी बनाउन पोखराका पर्यटन व्यवसायी, ट्राभल्स सञ्चालक तथा अन्य सरोकारवाला सक्रिय छन्। हवाई सेवाबाट आउने पर्यटकलाई आकर्षित गर्न स्थानीय होटल तथा रेस्टुरेन्टले विभिन्न सहुलियतका कार्यक्रमसमेत ल्याएका छन्।
हाल फ्लाई दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ विमानमार्फत पोखरा–दुबई–पोखरा उडान सञ्चालन गरिरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने यो पहिलो वायुसेवा कम्पनी हो। यसअघि केही कम्पनीले पोखराबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर उडान गरेका थिए।
दुबईलाई ट्रान्जिटका रूपमा प्रयोग गर्न सकिने भएकाले यो सेवाले पोखरालाई विश्वका विभिन्न मुलुकसँग हवाई सञ्जालमार्फत जोड्ने सम्भावना बढाएको छ। यसबाट विदेशी पर्यटकको आगमन वृद्धि, होटल तथा पर्यटन व्यवसायको विस्तार, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने नीति अघि सारेको केही समयपछि फ्लाई दुबईले सेवा सुरु गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते कम्पनीलाई पोखरा–दुबई उडानको अनुमति दिएको थियो।
अन्तर्राष्ट्रिय उडान प्रवर्द्धनका लागि सरकारले विमानस्थलका केही शुल्कमा सहुलियतसमेत दिएको छ। विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
टिकट बुकिङ अवधि विस्तार र नियमित उडानले निरन्तरता पाएमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढ्नुका साथै गण्डकी प्रदेशको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
