लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आकर्षण बढ्दो, आगमन २४ प्रतिशतले वृद्धि
काठमाडौं, कात्तिक ११ । लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको आगमन २४ प्रतिशतले वृद्धि भएको हो।
२३औँ वार्षिक साधारण सभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा भारतीय पर्यटकको संख्या बढेको उल्लेख छ। केबलकार चढ्ने कुल पर्यटकमध्ये भारतीय नागरिकको हिस्सा २९ प्रतिशत पुगेको अध्यक्ष ढकालले जानकारी दिए।
भारतको उत्तर प्रदेशका साथै दिल्ली, झारखण्ड, बिहार, केरला र आन्ध्र प्रदेशबाट आउने पर्यटकले पाल्पाको वसन्तपुर डाँडामा अवस्थित कामाख्या देवी र प्राचीन दुर्गा मन्दिरको दर्शन तथा भ्रमण गर्ने क्रम बढेको कम्पनीले जनाएको छ।
भारतीय पर्यटकलाई थप आकर्षित गर्न सीमावर्ती क्षेत्रका सवारी चालकलाई लक्षित विशेष व्यवस्था गरिएको छ। साथै, भारतीय भ्लगरमार्फत केबलकार र आसपासका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई पनि तीव्रता दिइएको प्रतिवेदनमा उल्लेख छ।
यसैबीच, केबलकारको माथिल्लो स्टेसन वसन्तपुरमा पाँचतारे स्तरको होटल तथा क्यासिनो निर्माणको काम अघि बढाइएको छ। होटलको नक्सापास प्रक्रिया अन्तिम चरणमा पुगेको र खानेपानी आपूर्तिका लागि आवश्यक व्यवस्थापनसमेत आंशिक रूपमा पूरा भएको अध्यक्ष ढकालले बताए।
कम्पनीले आगामी आर्थिक वर्षमा पर्यटकका लागि थप मनोरञ्जनका सुविधा विस्तार गर्ने योजना बनाएको छ। यसअन्तर्गत रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइडजस्ता आकर्षण थप गर्ने तयारी छ।
पर्यटकको संख्या बढाउन कम्पनीले बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटल, ४० भन्दा बढी संघसंस्था तथा ४५ भन्दा बढी शिक्षण संस्थासँग सहकार्य गरेको छ। त्यसैगरी, भाटभटेनी सुपरमार्केट, क्युएफएक्स सिनेमा, लुम्बिनी विकास कोष र शङ्करनगर वन विहारसँग टिकट छुट तथा बजार प्रवर्द्धनसम्बन्धी सम्झौता गरिएको छ।
विश्वको भूराजनीतिक अवस्था र बजारमा बढ्दो मूल्यवृद्धिका बाबजुद खर्च नियन्त्रण र मितव्ययितालाई प्राथमिकता दिँदै कम्पनीले काम गरिरहेको जनाएको छ। साथै, आगामी केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान पुर्याउने लक्ष्य राखिएको छ।
लुम्बिनी केबलकारमा भारतीय पर्यटकको बढ्दो सहभागिता, होटल तथा क्यासिनो निर्माण र मनोरञ्जनका नयाँ पूर्वाधार थप गर्ने योजनाले यस क्षेत्रको पर्यटन व्यवसायलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
