नागढुंगा सुरुङमार्गमा १५ कात्तिकदेखि सवारीसाधनसँग शुल्क असुलिने
काठमाडौं कात्तिक । नागढुंगा सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनले आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलन सुरु गर्न लागिएको जानकारी दिएको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिले १२ असोजमा गरेको निर्णय र २६ चैत २०८२ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा सवारीसाधनको प्रकारअनुसार दस्तुर निर्धारण गरिएको आयोजनाले जनाएको छ।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर वा ट्रकका लागि काठमाडौं प्रवेशमा ११५ रुपैयाँ र बाहिरिने क्रममा ८० रुपैयाँ शुल्क तोकिएको छ।
बस तथा ट्रकले सुरुङमार्ग प्रयोग गरी काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौं बाहिरिँदा २०० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
यसैगरी, मल्टी एक्सल ट्रक, अन्य ठूला सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिने क्रममा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
सुरुङमार्ग प्रयोग गरेबापत लाग्ने दस्तुर सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार फरक हुने व्यवस्था गरिएको छ। १५ कात्तिकदेखि लागू हुने यो व्यवस्थासँगै नागढुंगा सुरुङमार्ग हुँदै यात्रा गर्ने चालक तथा सवारीधनीले तोकिएको शुल्क तिरेर मात्र मार्ग प्रयोग गर्नुपर्नेछ।
