धानमा बाला नलागेपछि माडीका किसान मारमा, बीउको गुणस्तरमाथि आशङ्का
चितवन। चितवनको माडी क्षेत्रमा धानखेतीमा असामान्य समस्या देखिएपछि किसान चिन्तित बनेका छन्। रोपाइँदेखि नै रोगको सङ्क्रमण देखिएको धान पाक्ने समयसम्म पनि बाला नलाग्ने र बाला लागेका ठाउँमा समेत दाना नभरिने समस्या देखिएको हो।
विशेषगरी ‘बायोसीड ३०१’ जातको धान लगाएका किसानले ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन्। अपेक्षित उत्पादन नहुँदा परिवारका लागि वर्षभरि आवश्यक पर्ने खाद्यान्न जुटाउनसमेत समस्या हुने चिन्ता उनीहरूमा बढेको छ। समस्याको समाधान र क्षतिपूर्तिको माग गर्दै किसानहरू माडी नगरपालिकाको कृषि शाखामा पुगिरहेका छन्।
माडी नगरपालिका–५, ६ र ७ लगायतका क्षेत्रमा उक्त जातको धानमा रोगको सङ्क्रमण, बाला नलाग्ने र दाना नभरिने समस्या देखिएको कृषि शाखाले जनाएको छ। सुरुमा मरुवा (ब्लास्ट) र खैरो थोप्ले रोग देखिएपछि नियन्त्रणका लागि विषादी प्रयोग गरिए पनि अपेक्षित सुधार हुन सकेन।
कृषि शाखा प्रमुख सुरेश सिँखडाका अनुसार स्थलगत अनुगमनका क्रममा कतिपय खेतमा धानमा बाला नै नलागेको र बाला लागेका खेतमा समेत घाँटी मरुवा, खैरो थोप्ले तथा मर्चट ब्लाइटजस्ता रोगको सङ्क्रमण देखिएको थियो।
स्थानीय एग्रोभेटबाट प्राप्त विवरणअनुसार माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार किलो बीउ बिक्री भएको र झन्डै १०० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ। असारको मध्यदेखि अन्तिमसम्म रोपिएको धान असोज मसान्तसम्म पनि धेरै किसानको खेतमा पसाउन नसकेपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको हो।
एउटै जातको धान लगाएका अधिकांश किसानको खेतमा समान प्रकृतिको समस्या देखिएकाले बीउमै कमजोरी हुन सक्ने कृषि शाखाको प्रारम्भिक आशङ्का छ। यस विषयमा कृषि विकास कार्यालय भरतपुर र प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी गराइसकिएको छ। सम्बन्धित निकायले प्रभावित क्षेत्रको निरीक्षणसमेत गरेका छन्।
नयाँ बीउ लगाउँदा लगानी र मेहनत खेर
माडी–७ कीर्तनपुरका किसान गोविन्द भण्डारीले यसअघि एक कठ्ठा जमिनबाट पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए। नयाँ जातको धानबाट मिठो र मसिनो चामल उत्पादन हुने अपेक्षासहित यस वर्ष बीउ परिवर्तन गरेका उनी अहिले निराश छन्।
रोपाइँपछि धानमा रोग देखिन थालेपछि पटकपटक विषादी प्रयोग गरे पनि समस्या समाधान भएन। धान काट्ने समयमा खेतमा खोक्रा बाला मात्र देखिएपछि उनको उत्पादनको आशा निराशामा परिणत भएको छ।
माडी–६ कल्याणपुरकी सावित्री चापागाईंको अवस्था पनि उस्तै छ। परिवारका लागि खाद्यान्न जुटाउने र केही आम्दानी गर्ने उद्देश्यले यस वर्ष आफैँले खेती सुरु गरेकी उनले करिब १६ कठ्ठामा लगाएको धानबाट मुस्किलले दुई–चार बोरा मात्र उत्पादन भएको बताएकी छन्। त्यो पनि खानयोग्य अवस्थामा नरहेको उनको गुनासो छ।
उनका अनुसार रोपाइँपछि धानका बोट रातो हुँदै मर्न थालेका थिए। बाँकी रहेका बोटमा पनि बाला नलाग्ने र खोक्रा बाला मात्र देखिने समस्या आयो। आसपासका अन्य किसानले पनि सोही जातको धान लगाएर यस्तै क्षति व्यहोरेको उनले बताइन्।
अनुसन्धानपछि क्षतिको विवरण सार्वजनिक गरिने
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माडीका केही क्षेत्रमा नयाँ जातको धानमा समस्या देखिएको जानकारी प्राप्त भएको बताएका छन्। किसानको गुनासोका आधारमा बीउको स्रोत, बिक्री प्रक्रिया र गुणस्तरबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।
बीउ बिक्री गर्ने एग्रोभेटबाट खरिद तथा आपूर्तिसम्बन्धी विवरण सङ्कलन गरी आवश्यक प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ। धानमा देखिएको समस्या रोगको सङ्क्रमणका कारण हो वा बीउको गुणस्तरमा समेत कमजोरी छ भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।
हाल प्रभावित किसानको क्षतिको विवरण सङ्कलन भइरहेको छ। बीउको गुणस्तर परीक्षण र स्थलगत अध्ययनबाट वास्तविक कारण पहिचान गरी क्षतिको परिमाण निर्धारण गरिने सम्बन्धित निकायले बताएका छन्।
यस घटनाले किसानलाई बीउ छनोट गर्दा सावधानी अपनाउनुपर्ने आवश्यकता पनि देखाएको छ। कृषि प्राविधिक तथा सम्बन्धित कार्यालयको परामर्श लिएर प्रमाणित र उपयुक्त बीउ प्रयोग गर्न कृषि अधिकारीहरूले सुझाव दिएका छन्।
