धानखेती छाडेर सयपत्री फूलखेतीमा किसानको आकर्षण, १० कट्ठाबाट १२ लाख आम्दानीको लक्ष्य
झापा। धान उत्पादन हुँदै आएको खेतमा अहिले सयपत्री फूलले पहेँलपुर बनेको छ। परम्परागत धानखेतीबाट अपेक्षित आम्दानी हुन नसकेपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका छन्। उनीहरूले १० कट्ठा जमिनमा सामूहिक रूपमा सयपत्री खेती गरी १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य राखेका छन्।
विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले ‘कृषि कम्पास’ समूह गठन गरेर फूलखेती सुरु गरेका हुन्। समूहले उक्त क्षेत्रमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको थियो। खेतीका लागि करिब पाँच लाख ५० हजार रुपैयाँ लगानी गरेका किसानले यस वर्ष करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन्।
उत्पादित फूलबाट माला तयार गरी बिक्री गर्दा १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी हुने उनीहरूको अनुमान छ। अहिले खेतबाट फूल टिप्ने, माला गाँस्ने र तयार भएका माला बिक्रीका लागि सुरक्षित राख्न कोल्डस्टोरमा भण्डारण गर्ने काम भइरहेको छ।
समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जमिनमा धानखेती गर्दा करिब ३० मन धान उत्पादन हुन्थ्यो, जसको बजार मूल्य झन्डै ५० हजार रुपैयाँ मात्रै पर्थ्यो। धानखेतीको तुलनामा फूलखेतीबाट बढी आम्दानी गर्न सकिने सम्भावना देखेपछि उनीहरूले खेती प्रणाली परिवर्तन गरेका हुन्।
न्यौपानेका अनुसार एउटा सयपत्री मालाको मूल्य १०० देखि १५० रुपैयाँसम्म पर्ने भएकाले बजार राम्रो भए अपेक्षित आम्दानी हासिल गर्न सकिनेछ। पाँचदेखि सात वर्षसम्म धानखेती गरेर प्राप्त हुने आम्दानी फूलखेतीबाट एकै वर्षमा हासिल गर्न सकिने उनको भनाइ छ।
यस वर्षको उत्पादन र बजारको सम्भावनाबाट उत्साहित किसानले आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएका छन्। समूहका सदस्य विनोद रिजालका अनुसार अर्को वर्ष करिब तीन बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्ने तयारी भइरहेको छ।
बजार व्यवस्थापन मुख्य चुनौती
फूलखेतीबाट राम्रो आम्दानीको सम्भावना भए पनि उत्पादनपछि भण्डारण र बजार व्यवस्थापन किसानका लागि प्रमुख चुनौती बनेको छ। फूल टिपिसकेपछि लामो समयसम्म ताजा राख्नुपर्ने र समयमै बजारसम्म पुर्याउनुपर्ने बाध्यता छ।
त्यसमाथि भारतबाट आयात हुने फूलका कारण स्वदेशी उत्पादनले उचित बजार नपाउने र लगानी डुब्ने जोखिम रहेको किसानहरूको चिन्ता छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने मागसहित जिल्लाका व्यावसायिक फूल किसानको समूहले मंगलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष सातबुँदे मागपत्रसमेत बुझाएको थियो।
किसानहरूले स्वदेशी सयपत्री फूलको बजार सुनिश्चित गर्न र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न प्रशासनसँग आग्रह गरेका छन्।
किसानका समस्या र फूलखेतीको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी पोखरेल शनिबार बुद्धशान्ति पुगेका थिए। उनले व्यावसायिक फूलखेतीमा संलग्न किसानसँग भेट गरी उत्पादन, बजार र सम्भावित चुनौतीबारे जानकारी लिएका थिए।
सो अवसरमा पोखरेलले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताए। झापामा फूलको माग ठूलो रहेकाले स्थानीय उत्पादन पर्याप्त हुने विषयमा भने सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो। आवश्यक परे पूर्वी पहाडी जिल्लाबाट समेत फूल ल्याउन सकिने उनले उल्लेख गरे।
झापालाई फूल उत्पादनको केन्द्र बनाउने सम्भावना
स्थानीय अभियानकर्मी मनिष दाहालका अनुसार बुद्धशान्तिको शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा व्यावसायिक फूलखेती विस्तार हुँदै गएको छ। पछिल्लो समय किसानहरू परम्परागत खेतीको विकल्पका रूपमा फूलखेतीतर्फ आकर्षित हुन थालेका छन्।
किसानको बढ्दो चासो, खेती विस्तार र बजारको मागलाई आधार मान्दा झापालाई फूल उत्पादनमा आत्मनिर्भर बनाउन सकिने सम्भावना रहेको दाहाल बताउँछन्।
परम्परागत धानखेतीबाट कम आम्दानी हुने जमिनलाई व्यावसायिक फूलखेतीमा रूपान्तरण गर्ने बुद्धशान्तिका किसानको प्रयासले कृषि विविधीकरण र वैकल्पिक आम्दानीको सम्भावना देखाएको छ। तर यसलाई दीर्घकालीन व्यवसायका रूपमा विकास गर्न उत्पादनसँगै बजार सुनिश्चितता, शीतभण्डारण, ढुवानी सुविधा र स्वदेशी उत्पादनको प्रवर्द्धनमा ध्यान दिनुपर्ने देखिन्छ।
