तिहारको लामो बिदाले मुस्ताङमा बढायो पर्यटकको चहलपहल
मुस्ताङ— तिहारसँगै परेको लामो बिदाका कारण हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ। दसैँको समयमा अपेक्षाअनुसार पर्यटक नआए पनि मौसममा सुधार आएपछि तिहारको आसपास मुस्ताङका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ देखि १५ गतेसम्म मात्रै ३५ हजार ८५८ पर्यटक मुस्ताङ पुगेका छन्। तीमध्ये २७ हजार १०७ जना नेपाली र ८ हजार ७५१ जना विदेशी पर्यटक छन्।
विदेशी पर्यटकमध्ये सार्क मुलुकबाट ७ हजार ७१४ जना र अन्य मुलुकबाट १ हजार ३७ जना मुस्ताङ पुगेका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए।
उनका अनुसार तिहार नजिकिँदै जाँदा स्वदेशी पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्था, सहकारी र विभिन्न संघसंस्थासँग आबद्ध व्यक्तिहरू बिदाको अवसर पारेर मुस्ताङ पुगिरहेका छन्।
मौसम खुलेपछि बढ्यो आवागमन
दसैँअघि र दसैँको आसपास भारी वर्षा, हिमपात, हिमपहिरो तथा आँधीको जोखिमका कारण मुस्ताङको पर्यटन प्रभावित भएको थियो। प्रतिकूल मौसम र सडक अवस्थाका कारण अपेक्षाअनुसार पर्यटक आउन नसके पनि पछिल्लो समय मौसम अनुकूल बनेपछि पर्यटन गतिविधि पुनः बढ्न थालेको हो।
पर्यटन व्यवसायीहरूका अनुसार तिहारदेखि छठसम्मको बिदा मुस्ताङका लागि महत्वपूर्ण पर्यटन सिजन बनेको छ। चिसो बढ्दै गए पनि युवापुस्तामाझ चाडपर्वको बिदामा मुस्ताङ घुम्ने आकर्षण बढिरहेको छ।
मुक्तिनाथदेखि कोरलासम्म पर्यटकको रोजाइ
मुस्ताङ पुग्ने अधिकांश पर्यटकको पहिलो रोजाइ मुक्तिनाथ मन्दिर बन्ने गरेको छ। धार्मिक यात्रासँगै पर्यटकहरूले जिल्लाका अन्य प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक गन्तव्यसमेत घुम्ने गरेका छन्।
मुक्तिनाथपछि कोरला नाका, लोमान्थाङ, झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जोमसोम र मार्फा पर्यटकका प्रमुख आकर्षण हुन्।
त्यसैगरी थासाङ क्षेत्रका सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल लगायतका गन्तव्यमा पनि पर्यटक पुग्ने गरेका छन्।
मुस्ताङको प्राकृतिक सौन्दर्यसँगै यहाँको हिमाली जीवनशैली, संस्कृति, परम्परा, भेषभूषा, जैविक विविधता र ऐतिहासिक सम्पदाले पनि पर्यटकलाई आकर्षित गर्दै आएको छ।
कोरला नाका बन्दै नयाँ आकर्षण
पछिल्लो समय नेपाल–चीन सीमास्थित कोरला नाका आन्तरिक पर्यटकको नयाँ रोजाइका रूपमा विकसित हुँदै गएको छ। मुक्तिनाथ दर्शनसँगै कोरला पुग्ने पर्यटकको संख्या बढिरहेको व्यवसायीहरू बताउँछन्।
बेनी–जोमसोम सडकमा आउने अवरोध र मौसमको प्रतिकूलताले केही समय पर्यटन आवागमन प्रभावित भए पनि अहिले सडक तथा मौसमको अवस्था तुलनात्मक रूपमा सहज भएपछि पर्यटकको चाप बढेको हो।
पर्यटन व्यवसायीहरूका अनुसार दसैँ, तिहार र छठजस्ता चाडपर्वका लामो बिदामा मुस्ताङ घुम्ने नेपालीको संख्या अझै बढ्ने सम्भावना छ। धार्मिक पर्यटनसँगै प्राकृतिक तथा साहसिक पर्यटनका लागि समेत मुस्ताङ लोकप्रिय बन्दै गएकाले आगामी दिनमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको छ।
