कर योगदानमा नबिलको दबदबा कायमै, नवौँ पटक सर्वाधिक कर तिर्ने बैंक सम्मानित
काठमाडौं । बैंकिङ क्षेत्रमा सर्वाधिक आयकर दाखिला गर्ने बैंकका रूपमा नबिल बैंक लिमिटेडले नेपाल सरकारबाट नवौँ पटक सम्मान प्राप्त गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाएको आधारमा नबिललाई राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरिएको हो। आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरेका थिए।
नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले बैंकका तर्फबाट सम्मान ग्रहण गरे।
बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नबिलले करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो। चालु तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा भने बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर दाखिला गरेको जनाएको छ।
सम्मान ग्रहण गर्दै चौधरीले नवौँ पटक प्राप्त भएको यो उपलब्धि बैंकका कर्मचारी, ग्राहक तथा समग्र नबिल परिवारको सामूहिक योगदानको परिणाम भएको बताए। कर तिर्नुलाई बैंकले आफ्नो व्यावसायिक दायित्वसँगै राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा लिएको उनको भनाइ छ।
उनले बैंकिङ सेवाको गुणस्तर सुधार, जिम्मेवार व्यावसायिक अभ्यास र नेपालको आर्थिक विकासमा योगदान पुर्याउने कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
नबिलको कर योगदानलाई बैंकको वित्तीय गतिविधिबाट राज्यको राजस्वमा पुगेको प्रत्यक्ष योगदानका रूपमा हेरिएको छ। बैंकले पारदर्शिता, जिम्मेवार बैंकिङ अभ्यास र ग्राहकको विश्वासलाई आफ्नो दीर्घकालीन व्यावसायिक यात्राको आधार बनाउँदै आएको जनाएको छ।
चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले प्रविधिमा आधारित सेवा विस्तारलाई समेत प्राथमिकता दिएको छ। डिजिटल बैंकिङलाई थप सहज बनाउन ‘एनबैंक’ लगायतका सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
हाल नबिल बैंकका देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएम सञ्चालनमा छन्। बैंकले करिब ३० लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।
सरकारले राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट राज्यको राजस्वमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ। नबिल बैंकले बैंकिङ क्षेत्रबाट सर्वाधिक करदाता संस्थाका रूपमा पाउँदै आएको यो सम्मान त्यसैको निरन्तरता हो।
