धान खरिदमा सरकारी ढिलाइको असर : बर्दियाका किसानले समर्थन मूल्यभन्दा सस्तोमा बेच्दै
बर्दिया । सरकारी निकायले धान खरिद प्रक्रिया समयमै अघि नबढाउँदा बर्दियाका किसान आफ्नो उत्पादन बजार मूल्यभन्दा कममा बिक्री गर्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद सुरु गर्न ढिलाइ गरेपछि किसानले हिउँदेबालीको तयारी, मल–बीउ खरिद तथा घरायसी खर्च जुटाउन व्यापारीलाई सस्तोमै धान बेचिरहेका छन् ।
गुलरिया नगरपालिका–१२ भैसाहीका अगुवा किसान जगमोहन थारूले सरकारी खरिद सुरु हुने समय कुर्दाकुर्दै आर्थिक आवश्यकता पूरा गर्न धान बिक्री गर्नुपरेको बताए । उनले प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँका दरले ३०० क्विन्टल धान बिक्री गरिसकेको जानकारी दिए ।
उनका अनुसार खेत जोत्न, हिउँदेबालीका लागि आवश्यक सामग्री जुटाउन र घरखर्च चलाउन तत्काल रकम आवश्यक परेकाले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पर्खिन सक्ने अवस्था रहेन ।
बढैयाताल गाउँपालिका–७ का किसान रामदेव थारूको अवस्था पनि उस्तै छ । मल र हिउँदेबालीको बीउ खरिद गर्न रकम आवश्यक भएपछि उनले शनिबार धान बिक्री गरेका हुन् ।
अहिले बर्दियामा मोटा धान प्रतिक्विन्टल करिब दुई हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बढैयाताल गाउँपालिका–५ बढैयागाउँका गल्ला व्यापारी सुरेश थारूका अनुसार मोटा धान दुई हजार ९०० र मसिनो धान चार हजार रुपैयाँ प्रतिक्विन्टलका दरले खरिद भइरहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले भने मङ्सिर ३ गतेदेखि धान खरिद सुरु गर्ने जनाएको छ । गत वर्ष कात्तिक १९ गतेदेखि नै खरिद थालेको कम्पनीले यसपटक करिब दुई सातापछि प्रक्रिया अघि बढाउन लागेको हो ।
नेपाल किसान महासङ्घका अध्यक्ष बिपी भण्डारीका अनुसार सरकारी खरिद ढिलो हुँदा बर्दियाका किसानले आफ्नो उत्पादनको ठूलो हिस्सा बजारमा कम मूल्यमा बिक्री गरिसकेका छन् । किसानको धान समयमै खरिद गर्न कम्पनीलाई दबाब दिइँदै आएको उनले बताए ।
यस वर्ष कम्पनीले बर्दियाबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । कम्पनीका वरिष्ठ सहायक तथा सूचना अधिकारी चेतमान कठायतका अनुसार बर्दियाका लागि गत वर्षकै परिमाणमा धान खरिद गर्ने अनुमति प्राप्त भएको छ ।
प्राथमिक खरिद समितिले तिहार बिदाका कारण मङ्सिरको पहिलो सातादेखि खरिद सुरु गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । जिल्लाका आठवटै पालिकाबाट प्रतिपालिका तीन हजार क्विन्टलका दरले धान खरिद गर्ने योजना छ । यसअनुसार २४ हजार क्विन्टल धान पालिकामार्फत र बाँकी छ हजार क्विन्टल कम्पनीको आफ्नै परिसरबाट खरिद गरिनेछ ।
सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । गत वर्ष मोटा धानको समर्थन मूल्य तीन हजार ४६३ र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ थियो ।
तर सरकारी समर्थन मूल्य र स्थानीय बजारमा किसानले पाउने मूल्यबीच ठूलो अन्तर देखिएको छ । यसले सरकारी खरिद प्रक्रिया ढिला हुँदा किसानले समर्थन मूल्यको लाभ लिन नसकेको अवस्था देखाएको छ ।
बर्दिया धान उत्पादनका दृष्टिले महत्वपूर्ण जिल्ला हो । जिल्लामा करिब ५० हजार १०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार उक्त क्षेत्रबाट वार्षिक दुई लाख २८ हजार ८१ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
धान उत्पादन ठूलो भए पनि सरकारी खरिदको समयमै व्यवस्था हुन नसक्दा किसानले लागतअनुसारको मूल्य पाउन नसक्ने समस्या दोहोरिँदै आएको छ । किसानका लागि उत्पादनपछिको उचित मूल्य र समयमै सरकारी खरिदको सुनिश्चितता अझै चुनौती बनेको छ ।
