२४ घन्टा खुला काठमाडौं : रात्रिकालीन पर्यटन विस्तारको नयाँ सम्भावना
काठमाडौं — काठमाडौंलाई चौबीसै घन्टा चलायमान बनाउने तयारी अघि बढेसँगै राजधानीको रात्रिकालीन पर्यटनले नयाँ गति लिने सम्भावना देखिएको छ। प्रशासनले काठमाडौंका विभिन्न क्षेत्रका व्यापार–व्यवसायलाई २४ घन्टा सञ्चालन गर्न आवश्यक तयारी थालेपछि पर्यटकका लागि रातको समयमा समेत राजधानीका गतिविधिमा सहभागी हुने अवसर विस्तार हुने भएको हो।
हाल ठमेल र दरबारमार्ग चौबीसै घन्टा खुला रहने क्षेत्रका रूपमा सञ्चालनमा छन्। यी क्षेत्रलाई आधार बनाएर काठमाडौंका अन्य बजार तथा पर्यटकीय गन्तव्यमा समेत राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न सकिने वातावरण निर्माण गर्ने प्रशासनको तयारी छ।
काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदा, रात्रिकालीन बजार, रेस्टुरेन्ट तथा मनोरञ्जनका गतिविधिलाई रातिसम्म विस्तार गर्न सकिएमा विदेशी तथा आन्तरिक पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने पर्यटन व्यवसायीहरूको अपेक्षा छ। विशेषगरी ढिलो समयमा काठमाडौं आइपुग्ने पर्यटक, राति घुम्न रुचाउने यात्रु तथा छोटो समयका लागि राजधानी आउने पर्यटकलाई यसबाट थप सुविधा पुग्न सक्छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पाण्डेका अनुसार काठमाडौंका बाँकी क्षेत्रलाई पनि चौबीसै घन्टा सञ्चालनमा ल्याउन स्थानीय तह, विभिन्न सरकारी निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरिनेछ।
तर, काठमाडौंलाई २४ घन्टा खुला बनाउने योजना केवल व्यापारिक गतिविधि विस्तारमा सीमित नराखी सुरक्षा, यातायात, सरसफाइ, स्वास्थ्य सेवा र पर्यटकीय पूर्वाधारसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ। प्रशासनले पनि भरपर्दो सुरक्षा र आवश्यक पूर्वाधार सुनिश्चित गरेपछि मात्रै सबै क्षेत्र चौबीसै घन्टा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
राति पर्यटकका लागि सुरक्षित सार्वजनिक यातायात, पर्याप्त सडक बत्ती, सीसीटीभी, आकस्मिक स्वास्थ्य सेवा, इन्टरनेट तथा सूचना केन्द्रको व्यवस्था महत्वपूर्ण हुनेछन्। त्यस्तै, होटल, रेस्टुरेन्ट, क्याफे, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनस्थल तथा पर्यटक लक्षित सेवाहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिए काठमाडौंको रात्रिकालीन अर्थतन्त्रसमेत विस्तार हुन सक्छ।
काठमाडौंको सम्पदा, संस्कृति र खानपानलाई रातिको पर्यटनसँग जोड्न सके राजधानीको पर्यटन उत्पादन थप विविध बन्ने सम्भावना छ। विशेषगरी ठमेल, दरबारमार्ग, बसन्तपुर, पशुपति क्षेत्र आसपास तथा अन्य सांस्कृतिक र व्यापारिक क्षेत्रलाई सुरक्षित र व्यवस्थित रात्रिकालीन गन्तव्यका रूपमा विकास गर्न सकिए पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिने अपेक्षा गर्न सकिन्छ।
प्रशासनका अनुसार सडक यातायात, स्वास्थ्य, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्ती, सुरक्षा, आपूर्ति तथा व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधारको रणनीतिक तयारी भइरहेको छ।
विस्तृत तयारी पूरा भएपछि मात्रै काठमाडौंका समग्र क्षेत्र चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय गरिनेछ। त्यसअघि भने ठमेल र दरबारमार्गबाहेकका क्षेत्रमा व्यवसायीले हाल कायम समयसीमाअनुसार नै व्यवसाय सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ।
काठमाडौंलाई २४ घन्टा खुला गर्ने योजना कार्यान्वयनमा आएमा राजधानी केवल दिनमा घुम्ने गन्तव्य नभई रातिसमेत अनुभव गर्न सकिने पर्यटन सहरका रूपमा स्थापित हुने सम्भावना बढ्नेछ।
