पूर्वमुख्य सचिव अर्यालविरुद्ध पक्राउ पुर्जी, मलेसिया रोजगारी ठगी प्रकरणमा अनुसन्धान
काठमाडौं — पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध मलेसिया वैदेशिक रोजगारीसँग जोडिएको ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं जिल्ला अदालतबाट अर्याललाई पक्राउ गर्न अनुमति लिएको हो। मलेसियन सरकारसँग भएको श्रमसम्बन्धी सम्झौताविपरीत श्रमिकबाट रकम उठाएर ठगी गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ।
यसै प्रकरणमा सिआइबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्।
त्यस्तै, तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत उपसचिव निर्मला गुरुङ पनि अनुसन्धानको दायरामा परेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जाहेरी दिएपछि सिआइबीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ। पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
यसबीच पूर्वमुख्य सचिव अर्याल भने सम्पर्कविहीन रहेको सिआइबी स्रोतले जनाएको छ।
