नेपाल–भारत बिजनेस राउन्ड टेबलमा नेपाली मन्त्रीले सम्बोधन गर्ने, भारतीय सरकारको सहभागिता नहुने
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत बिजनेस राउन्ड टेबलमा भारतीय सरकारका तर्फबाट उच्च तहका प्रतिनिधि सहभागी नहुने भएको छ। कार्यक्रममा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि मंसिर ६ गते आइतबार नयाँ दिल्ली जाँदै छन्। गत चैतमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)को संयुक्त आयोजनामा मंसिर ६ गते साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा बिजनेस राउन्ड टेबल आयोजना हुँदैछ।
यसअघि भारतीय उद्योग तथा वाणिज्यमन्त्री पियुस गोयलले समेत कार्यक्रममा सम्बोधन गर्ने बताइएको थियो। तर पछिल्लो कार्यक्रम तालिकामा उनको नाम समावेश छैन। यससँगै कार्यक्रममा भारतीय सरकारको प्रत्यक्ष प्रतिनिधित्व नहुने स्पष्ट भएको छ।
नेपालका मन्त्रीहरू सहभागी हुने भएपछि एफएनसीसीआईले भारतीय उद्योग वा अर्थमन्त्रीलाई पनि कार्यक्रममा उपस्थित गराउन सीआईआईमार्फत आग्रह गरेको थियो। तर, भारतीय पक्षबाट मन्त्रीस्तरीय सहभागिता सुनिश्चित हुन सकेन।
कार्यक्रममा सीआईआई इन्टरनेसनलका सहसंयोजक तथा सन इन्टरनेसनलका अध्यक्ष विक्रमजित सिंह साहनीले स्वागत मन्तव्य दिनेछन्। त्यसपछि एफएनसीसीआई अध्यक्ष अन्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको भ्रमणसँगै नेपालबाट ५२ सदस्यीय व्यवसायी प्रतिनिधिमण्डल पनि नयाँ दिल्ली जानेछ। टोलीमा एफएनसीसीआई, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासंघ तथा नेपाल–भारत उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरू सहभागी हुनेछन्।
व्यवसायी प्रतिनिधिमण्डलको सहभागितालाई नेपाल–भारत व्यापार, लगानी र आर्थिक सहकार्य विस्तारका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। राउन्ड टेबलमा निजी क्षेत्रबीच लगानीका सम्भावना, व्यापारिक सम्बन्ध विस्तार र दुई देशबीच आर्थिक साझेदारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
