प्रधानमन्त्रीको भारत भ्रमण दलबाट निर्माण व्यवसायी महासंघ अध्यक्ष पाण्डे अन्तिम समयमा बाहिर
काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि तय गरिएको व्यावसायिक प्रतिनिधिमण्डलबाट अन्तिम समयमा हटाइएको छ।
परराष्ट्र मन्त्रालयले मंसिर ४ गते पाण्डेलाई पत्र पठाउँदै विशेष परिस्थितिका कारण भ्रमण दलमा उनलाई समावेश गर्न नसकिएको जानकारी गराएको हो। मन्त्रालयका अनुसार प्रतिनिधिमण्डलमा स्थान अभाव भएपछि यसअघि गरिएको उनको मनोनयन रद्द गरिएको हो।
यसअघि मंसिर ३ गते पाण्डेलाई पठाइएको पत्रमा उनलाई भारत भ्रमणका क्रममा सहभागी हुने बिजनेस डेलिगेसनको सदस्यका रूपमा मनोनयन गरिएको उल्लेख थियो। तर, त्यसको भोलिपल्टै मन्त्रालयले अर्को पत्रमार्फत उक्त निर्णय रद्द भएको जानकारी गराएको हो।
प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाँदै छन्। भ्रमणका क्रममा व्यवसायी क्षेत्रबाट ५२ सदस्यीय प्रतिनिधिमण्डल पनि भारत जाने तयारीमा छ। पाण्डे भने अन्तिम चरणमा आएर उक्त टोलीबाट बाहिरिएका हुन्।
प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुने व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू आफ्नै खर्चमा सहभागी हुने व्यवस्था छ। यसअघि पनि प्रधानमन्त्रीहरूको विदेश भ्रमणका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरू निजी खर्चमै व्यावसायिक प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागी हुँदै आएका छन्।
