आईजीपी विवादमा तत्काल हस्तक्षेप नगर्ने सर्वोच्चको निर्णय, अन्तिम सुनुवाइमै टुंगो लगाउने
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चले प्रहरी संगठनको नेतृत्वसम्बन्धी विवादको कानुनी निरूपण अन्तिम सुनुवाइबाटै गर्ने भएको छ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेपछि तत्काल कार्कीलाई आईजीपी पदमा पुनर्बहाली गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
सर्वोच्चले अन्तरिम आदेश जारी नगर्नुका पछाडि मुख्यतः तीन आधार प्रस्तुत गरेको छ।
पहिलो, सरकारको निर्णयपछि डा. मनोजकुमार केसीले प्रहरी महानिरीक्षकका रूपमा नियुक्ति बुझिसकेका छन्। उनले १८ कात्तिकमै पदभार ग्रहण गरी जिम्मेवारी सम्हालिसकेकाले अहिलेको अवस्थामा अन्तरिम आदेशमार्फत उक्त व्यवस्थामा हस्तक्षेप गर्नुपर्ने आवश्यकता नदेखिएको सर्वोच्चको भनाइ छ।
दोस्रो, रिटमा माग गरिएको अन्तरिम आदेश देशको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्वसँग प्रत्यक्ष जोडिएको विषय हो। प्रहरीको नेतृत्व परिवर्तनसम्बन्धी विषय सार्वजनिक महत्व र संवेदनशीलतासँग सम्बन्धित भएकाले तत्काल आदेश जारी गर्नु उपयुक्त नहुने अदालतले जनाएको छ।
तेस्रो, कार्कीको रिटमा उठाइएका कानुनी प्रश्न तथा माग गरिएको न्यायिक उपचारको टुंगो अन्तिम सुनुवाइबाटै लगाउनुपर्ने सर्वोच्चको निष्कर्ष छ। सुविधा र सन्तुलनको दृष्टिले समेत तत्काल अन्तरिम आदेश दिनुपर्ने अवस्था नदेखिएको आदेशमा उल्लेख छ।
यद्यपि, सर्वोच्चले मुद्दालाई लामो समयसम्म थाती राख्ने संकेत भने गरेको छैन। रिटको विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै छिटो सुनुवाइ गर्न आदेश दिइएको छ। लिखित जवाफ प्राप्त भएको सात दिनभित्र मुद्दाको पेशी तोक्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिइएको छ। पेशी तोकिएपछि दुवै पक्षले मुद्दा स्थगित गर्न नपाउनेसमेत आदेशमा उल्लेख छ।
कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गरी आफूलाई तत्काल आईजीपी पदमा पुनर्बहाली गर्न माग गरेका छन्।
इनम सापकोटासँग सम्बन्धित विषय र मोबाइल विवरण सार्वजनिक भएपछि सरकारले १८ कात्तिकमा कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो। त्यसपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।
रिटमा कार्कीले प्रहरी संगठनको नेतृत्व, नियन्त्रण प्रणाली तथा ‘चेन अफ कमाण्ड’ कायम गर्ने आफ्नो संवैधानिक तथा कानुनी भूमिकामाथि प्रश्न उठाइएको जिकिर गरेका छन्। सरकारको निर्णय कानुनी आधारविहीन रहेको उनको दाबी छ।
बुधबारको सुनुवाइमा कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य, डा. दिनमणी पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत र केदारप्रसाद कोइरालासहित अधिवक्ताहरूले बहस गरेका थिए।
सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल, नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहान तथा सहन्यायाधिवक्ताहरू दिनेश घिमिरे र सोमकान्ता भण्डारीले सरकारको निर्णयको प्रतिरक्षा गरेका थिए।
नवनियुक्त आईजीपी डा. मनोज केसीका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अधिवक्ताहरू डा. सुभाष आचार्य, अपूर्व खतिवडा र संजिवराज रेग्मीले बहस गरेका थिए। प्रहरी प्रधान कार्यालयका तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले अदालतमा आफ्नो पक्ष राखेका थिए।
अब मुद्दाको मूल विवाद अन्तिम सुनुवाइमार्फत टुंगो लाग्नेछ। त्यसका लागि अदालतले मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने संकेत गरेको छ।
