आँखाले नदेखे पनि अनुभूतिले नेपाल चिनिरहेका दृष्टिविहीन पर्यटक
काठमाडौं । हिमाल, पदयात्रा, जंगल सफारी र धार्मिक पर्यटनका लागि परिचित नेपाल अब दृष्टिविहीन तथा फरक क्षमता भएका पर्यटकका लागि पनि नयाँ अनुभवको गन्तव्य बन्न थालेको छ। यहाँको प्रकृति, संस्कृति, खानपान, स्थानीय जीवनशैली र वातावरणीय अनुभूतिले दृष्टिविहीन पर्यटकलाई आकर्षित गर्न थालेका हुन्।
पर्यटन व्यवसायीहरूले पछिल्लो समय ‘नेपाल सधैंभरि, सबैका लागि’ भन्ने अवधारणालाई अघि बढाउँदै पर्यटनका गतिविधिलाई थप समावेशी बनाउने प्रयास थालेका छन्। त्यसैक्रममा दृष्टिविहीन पर्यटकका लागि उनीहरूको क्षमता र आवश्यकताअनुसार विशेष भ्रमण तथा अनुभवका कार्यक्रम सञ्चालन भइरहेका छन्।
एडभेन्चर इन्टरनेसनल ट्रेकिङ प्रालिकी सञ्चालक देवी पाण्डेका अनुसार दृष्टिविहीन पर्यटक नेपालमा दृश्यभन्दा बढी आवाज, स्पर्श, स्वाद, गन्ध र प्रकृतिको वातावरणमार्फत नयाँ अनुभव लिइरहेका छन्।
उनका अनुसार नेपालको स्वच्छ मौसम, चराचुरुङ्गीको आवाज, नदीको कलकल, हावाको स्पर्श र रुखबिरुवाबाट आउने प्राकृतिक ध्वनिले पर्यटकलाई नेपालमा रहेको अनुभूति गराउँछ। त्यसमाथि तालिमप्राप्त गाइडले उनीहरू रहेको स्थान, आसपासको दृश्य र गतिविधिबारे विस्तृत रूपमा वर्णन गर्ने भएकाले दृष्टिविहीन पर्यटकले पनि भ्रमणलाई सहज रूपमा आत्मसात् गर्न सकिरहेका छन्।
पाण्डेले पछिल्लो समय युरोपेली मुलुकबाट आउने फरक क्षमता भएका पर्यटकका लागि समूहगत भ्रमणको व्यवस्था गरिरहेका छन्। काठमाडौं उपत्यकाबाट सुरु हुने यस्ता भ्रमणमा सांस्कृतिक, धार्मिक, खानपान र स्थानीय जीवनशैलीसँग जोडिएका गतिविधिलाई प्राथमिकता दिइएको छ।
दृष्टिविहीन पर्यटकलाई पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ तथा काठमाडौं दरबार स्क्वायरको भ्रमण गराउने गरिएको छ। त्यस्तै ठमेलको पर्यटकीय बजारमा घुमफिर तथा किनमेल र भक्तपुरमा परम्परागत रूपमा माटाका भाँडा बनाउने अनुभवसमेत प्रदान गरिन्छ।
पर्यटकलाई नेपाली खानासँग परिचित गराउने गतिविधिलाई पनि भ्रमणको महत्वपूर्ण हिस्सा बनाइएको छ। नेपाली मःमः बनाउने कार्यशाला, स्थानीय परिकार तयार गर्ने र स्वाद लिने अवसरसँगै स्थानीय संस्कृति तथा परम्परालाई नजिकबाट बुझ्ने वातावरण तयार गरिएको पाण्डे बताउँछन्।
काठमाडौंपछि पोखरामा पनि दृष्टिविहीन पर्यटकका लागि प्रकृति र साहसिक गतिविधि समेटिएका छन्। फेवातालमा डुङ्गा सयर, विश्व शान्ति स्तूपसम्म छोटो पदयात्रा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय तथा विभिन्न गुफाको भ्रमण गराउने गरिएको छ।
‘लामो पदयात्रामा एक्लै हिँड्न कठिन हुन्छ, तर गाइडको निर्देशनअनुसार छोटो हाइकिङ गर्न सकिन्छ,’ पाण्डे भन्छन्, ‘नेपाल आउने पर्यटक निरन्तर नयाँ ठाउँ र अनुभव खोज्ने भएकाले आवश्यक सहयोगसहित उनीहरूलाई विभिन्न गतिविधिमा सहभागी गराउन सकिन्छ।’
पोखराबाट अन्नपूर्ण आधार शिविर क्षेत्रमा हेलिकप्टरमार्फत समेत भ्रमण गराउने गरिएको छ। हिमाली क्षेत्रमा केही समय बिताएर चिसो हावा, पहाडी वातावरण र प्राकृतिक अनुभूति लिन पाउने अवसरले दृष्टिविहीन पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको पाण्डेको भनाइ छ।
उनका अनुसार पर्यटकले रोजेको गतिविधिअनुसार भ्रमणको कार्यक्रम तय गरिन्छ। हिमालको चिसो हावा, प्रकृतिका विभिन्न आवाज, स्थानीय परिकारको स्वाद र वातावरणसँग प्रत्यक्ष सम्पर्कले उनीहरूलाई विशेष प्रभाव पार्ने गरेको छ।
चितवनको जंगल तथा वन्यजन्तु अनुभव पनि दृष्टिविहीन पर्यटकका लागि भ्रमणको अर्को आकर्षण बनेको छ। जिप सफारीमार्फत चितवन राष्ट्रिय निकुञ्जको जंगल अनुभव गराउने, क्यानोइङमार्फत नदी तथा वन्यजन्तुको वातावरणसँग परिचित गराउने र हात्ती संरक्षण केन्द्रमा हात्ती तथा संरक्षणसम्बन्धी जानकारी दिने गरिएको छ।
दृष्टिविहीन पर्यटकको एउटा टोली नेपाल भ्रमण पूरा गरी फर्किसकेको छ भने अन्य टोली आउने क्रममा रहेको पाण्डेले बताए। आवश्यक सहयोग, गाइड र व्यवस्थापनसहित भ्रमणका गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ।
‘उहाँहरूले विभिन्न स्थानको वातावरण, आवाज, स्पर्श, स्वाद र गाइडको वर्णनमार्फत नेपाललाई नजिकबाट अनुभव गर्नुभएको छ। भ्रमणपछि उहाँहरूले निकै खुसी व्यक्त गर्नुभएको छ,’ पाण्डेले भने।
उनका अनुसार दृष्टिविहीन पर्यटकको भ्रमणले नेपालमा समावेशी पर्यटनको ठूलो सम्भावना रहेको देखाएको छ। पर्यटनलाई केवल आँखाले दृश्य हेर्ने गतिविधिका रूपमा सीमित गर्न नहुने उनको धारणा छ।
‘पर्यटन आँखाले दृश्य हेर्नु मात्र होइन। प्रकृतिको आवाज सुन्नु, स्थानीय खानाको स्वाद लिनु, कला र संस्कृतिलाई स्पर्श गर्नु र नयाँ वातावरण अनुभव गर्नु पनि पर्यटन हो,’ उनी भन्छन्।
तर, फरक क्षमता भएका पर्यटकका लागि नेपालमा अझै पर्याप्त पूर्वाधार र सेवा विकास हुन बाँकी छ। पहुँचयुक्त सार्वजनिक संरचना, आवश्यक सूचना तथा सुविधा, विशेष तालिमप्राप्त गाइड र पर्यटकमैत्री व्यवस्थापनको विस्तार आवश्यक रहेको पाण्डे बताउँछन्।
उनका अनुसार समावेशी पर्यटनलाई राज्यको पर्यटन नीतिसँग जोडेर अघि बढाउन सके नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा फरक पहिचान बनाउन सक्छ। यसबाट पर्यटक आगमन बढाउनुका साथै स्थानीय रोजगारी, पर्यटन व्यवसाय र समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सकिने उनको भनाइ छ।
‘अब नेपालले परम्परागत पर्यटनको सीमाभन्दा बाहिर सोच्नुपर्छ। फरक क्षमता भएका पर्यटकलाई पनि समान अवसर र सहज पहुँच दिन सके नेपाल विश्वकै आकर्षक समावेशी पर्यटन गन्तव्य बन्न सक्छ,’ पाण्डेले भने।
