पोखरा विमानस्थलमा बल्ल विदेशी वायुसेवाको चासो, बंगलादेशी एयर अस्त्रले उडान गर्ने
टुरिजमफेस
काठमाडौं । बंगलादेशको वायुसेवा कम्पनी एयर अस्त्रले ढाका–पोखरा उडान गर्ने तयारी गरेको छ । बंगलादेशी एयरलाइन्स कम्पनीले ढाकाबाट पोखरा सीधा उडान गर्ने तयारी गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै साढे एक वर्षपछि विदेशी एअरलाइन्सले पहिलोपटक उडानका लागि चासो दिएको हो ।
अस्त्रले ढाका–पोखरा उडानका लागि अनुमति माग्दै नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष आवेदन दिएको छ । प्राधिकरणले अनुमतिपछि यो वायुसेवाले ढाका–पोखरा रुटमा उडान गर्ने छ । एयर अस्त्रले उडान अनुमति पाए यो वायुसेवाको लागि पहिलो अन्तर्राष्ट्रिय उडान नेपालको पोखरा हुनेछ । नेपालको लागि पनि नियमित उडान गर्ने वायुसेवा हुने छ ।
सो विमानस्थलबाट व्यवसायिक उडान हुने नसकेका कारण सरकारले चिनियाँ ऋण सहयोगमा बनाएको लगानी मात्रै खेर गइरहेको छ । पोखरामा चिनको ऋण सहयोगमा २१ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । यो विमानस्थल अन्तर्राष्ट्रिय भएपनि हाल पोखरामा आन्तरिक उडानमात्र भइरहेको छ । पोखरा विमानस्थलका प्रवक्ता जसोदा सुवेदीका अनुसार विमानस्थलमा हाल कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन ।