साउन ५, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन्। भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक आएका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा तीन लाख ६ हजार ८३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ९९ हजार ४१२ रहेको थियो। निकुञ्जले यो संख्या नै हालसम्मको उच्च रहेको जनाएको थियो। त्यो तथ्याङ्कलाई पार गर्दै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा सात हजार ४२५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन्। तिवारीका अनुसार गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार ३१६ भित्रिएका थिए। अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो। यसैगरी गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार ४७१ र अघिल्लो आर्थिक वर्षमा ३७ हजार ९३५ पर्यटक भित्रिएका थिए। यस्तै अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० र अघिल्लो आर्थिक वर्षमा ५५ हजार ८७२ भित्रिएका थिए। रासस