१२ वर्षअघिको त्यो दुर्घटना, अहिलेको यो दुर्घटना
काठमाडौं । २०६९ असोज १२ गते बिहान ६ः१५ मा काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि उडान भरेको सीता एयरको जहाज भक्तपुरको मनोहरा फाँटमा दुर्घटना भयो । दुर्घटनामा क्याप्टेन विजय तण्डुकारसहित १९ जना (सबै यात्रु)ले ज्यान गुमाए ।
त्यसको करीब १२ वर्षपछि गत बुधवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । पोखराका लागि उडेको उक्त जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ ।
१२ वर्षको अन्तरालमा भएका यी दुर्घटनामा दुई समानता छन् । पहिलो- दुवै विमानमा १९ यात्रु सवार थिए । दोस्रो- दुवै दुर्घटना काठमाडौं उपत्यकामा भएका थिए ।
यी दुई दुर्घटनामा असमानता पनि छन् । १२ वर्षअघि भएको त्यो दुर्घटना उडेको ४ मिनेटमा भएको थियो भने सौर्य एयरलाइन्सको जहाज उडेको १७ सेकेन्डमा भुइँमा बजारिएको थियो । त्यो बेलाको दुर्घटनामा क्याप्टेनसहित सबैको ज्यान गएको थियो भने पछिल्लो दुर्घटनामा क्याप्टेनको जीवितै उद्धार गरिएको छ ।
