पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई अनेकौं सहुलियत

टुरिजमफेस
काठमाडौं । सरकारले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि विभिन्न सहुलियत दिने भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्ययोजना अनुसार मन्त्रिपरिषद् बैठकले ती विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ र नेभिगेसन सेवा उपयोगबापत लिइने शुल्क ५ वर्षसम्म मिनाहा हुने कार्ययोजना स्वीकृत गरेको हो ।
त्यस्तै भैरहवा र पोखरा पुग्ने पर्यटकका लागि पनि भिसा निःशुल्क गर्ने, कार्गो र इन्धनमा सहुलियत दिने, भ्याट र अन्य करमा छुट दिइने कार्ययोजना स्वीकृत भएको छ । लामो समयसम्म विमानस्थल सञ्चालनमा आएपछि पोखरा र भैरहवाका व्यवसायीले विमानस्थल सञ्चालन गर्न जेठमा सरकारले पर्यटन तथा नागरिक उड्डयन र अर्थ मन्त्रालयका प्रतिनिधिसहित नागरिक उड्डयन प्राधिकरणका निर्देशक बाबुराम पौडेलको संयोजकत्वमा कार्ययोजना बनाउन कार्यदल गठन गरेको थियो । सोही कार्यदलले असार ३१ मा पर्यटन मन्त्री बद्री पाण्डेलाई कार्ययोजना बुझाएको थियो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुसमा उद्घाटन गरिए पनि नियमित र व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । उक्त कार्ययोजनामा एक सातामा गर्ने कुल उडानमध्ये २० प्रतिशत उडान भैरहवा र पोखराबाट गर्नुपर्ने उल्लेख छ । त्यस्तै बजेट एयरलाइन्सबाहेकका अरू ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सले सातामा एउटा उडान पोखरा, भैरहवामा गर्नुपर्नेछ । कार्ययोजना अनुसार इन्धनमा लिइने सबै कर छुट पनि पाउने भनिएको छ । होटल, सम्मेलन केन्द्र, साहसिक खेललगायतका पर्यटकीय पूर्वाधार निर्माण गर्न निजी क्षेत्रलाई कर, विद्युत् महसुल छुट दिइने पनि कार्ययोजनामा भनिएको छ । यो सँगै सरकारले वैदेशिक रोजगारीका सबै सेवा पोखरा र भैरहवाबाट प्रदान गर्ने निर्णय गरिसकेको छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिए पनि वैदेशिक रोजगारीका सबै सेवा काठमाडौंबाट दिँदा ती विमानस्थल सञ्चालनमा समस्या परेको गुनासो रहँदै आएको छ ।