मनास्लु जाने विदेशी र स्वदेशी पर्यटकबाट गाउँपालिकाले शुल्क लिने

टुरिजमफेस
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु क्षेत्र जाने स्वदेशी र विदेशी पर्यटकबाट शुल्क लिने निर्णय गरेको छ । यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष र अध्यागमन विभागले उठाउने पदयात्रा शुल्क गाउँपालिकालाई प्राप्त नभएको जनाउँदै गाउँपालिकाले आर्थिक ऐन २०८१ अनुसार पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले मनास्लु क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति एक हजार र स्वदेशी पर्यटकबाट प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क उठाउने निर्णय भएको सार्वजनिक गरेका छन् ।
गाउँपालिकाले भदौ २० गते जनप्रतिनिधि, राजनीतिक दलहरू, पर्यटन व्यवसायी र सरोकारवालाबीच छलफल गरेर शुल्क लिने निर्णय गरेको जनाएको छ । पर्यटकबाट लिइने शुल्कबाट मनास्लु क्षेत्रको पर्यटन र वातावरण संरक्षणका लागि लगानी गरिने पनि गाउँपालिकाले जनाएको छ । मनास्लु पदयात्रामा जाने पर्यटकको संख्या बढिरहेको छ । गाउँपालिकाको यस्तो निर्णयबारे संघीय सरकारको प्रतिक्रिया आइसकेको छैन ।