पोखरा र भैरहवामा सिधा उडानका लागि पुनः भारतलाई आग्रह
टुरिजमफेस
काठमाडौं । पोखरा र भैरहवामा सिधा उडानका लागि नेपालले पुनः भारतलाई आग्रह गरेको छ । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा भारतीय समकक्षीलाई आग्रह गरेका हुन् ।
नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सम्मेलनको साइडलाइन भेटघाटका क्रममा पाण्डेले भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँग त्यस्तो आग्रह गरेका हुन् । उनले पोखरा नेपालको पर्यटकीय राजधानीका रूपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रभण गरे पछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न शहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरूलाई प्रोत्साहित गर्न सकिने बताए ।
यसैबीच भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरूबाट सिधा हवाई उडान गर्न आग्रह गरे । सो क्रममा भारतीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने बताए ।
