रवि लामिछाने पक्राउ पर्ने आशंकापछि रास्वपा कार्यालयमा आकस्मिक भेलाको सर्कुलर
६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकामा रहेका पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गरेको छ ।
रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन एसएमएस मार्फत सर्कुलर जारी गरेका हुन् ।
केन्द्रीय कार्यालय पुगिसकेका रास्वपाका एक कार्यकर्ताले भने,‘प्रदेश सभापतिले मेसेज गरेपछि हामीहरु भेला हुँदैछौं ।’ रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरेको छ । रास्वपाले म्यासेजमा सत्ता गठबन्धनले षड्यन्त्र गर्न लागेको आरोप लगाएको बताइएको छ ।
