मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको चहलपहल, स्थानीय व्यवसायमा उत्साह
भोजपुर — पूर्वी पहाडको प्राकृतिक र सांस्कृतिक आकर्षण बोकेको मुन्दुम पदमार्गमा पर्यटकको आवागमन बढ्न थालेपछि स्थानीय पर्यटन व्यवसाय चलायमान बनेको छ। पदयात्राका लागि अनुकूल मौसमसँगै प्राकृतिक दृश्य र स्थानीय संस्कृति अवलोकन गर्न आउने आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढेको हो।
पर्यटकको चाप बढेसँगै पदमार्ग आसपासका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा कारोबार बढेको स्थानीय व्यवसायी बताउँछन्। टेम्केमैयुङ गाउँपालिका–४ चखेवा क्षेत्रमा रहेका होटलमा अहिले पर्यटकको उपस्थिति उल्लेख्य रहेको होटल व्यवसायी नवराज काङमाङले बताए।
उनका अनुसार चखेवा हुँदै दैनिक औसत १५० देखि २०० जनासम्म पर्यटक मुन्दुम पदमार्गतर्फ जाने गरेका छन्। पर्यटकको संख्या बढेसँगै होटलमा खाना खाने र रात बिताउनेको संख्या पनि बढेको छ। चखेवा क्षेत्रमा सञ्चालित १६ वटा होटलमा अहिले पर्यटकको चहलपहल बढेको उनले बताए।
पर्यटकको आगमनले होटल व्यवसाय मात्र नभई स्थानीय उत्पादनको बजारसमेत विस्तार भएको व्यवसायीको अनुभव छ। पदयात्रीले स्थानीयस्तरमा उत्पादित खाद्यान्न, कृषि उपज तथा घरेलु सामग्री खरिद गर्ने भएकाले पर्यटनबाट समुदायको आम्दानीमा समेत प्रत्यक्ष योगदान पुग्न थालेको छ।
मुन्दुम क्षेत्रमा विशेषगरी भदौदेखि मङ्सिरसम्म तथा चैतदेखि साउनसम्म पर्यटकको चहलपहल बढी हुने गरेको काङमाङले बताए। मौसम खुलेका बेला पदयात्रा सहज हुनुका साथै डाँडाकाँडा, वनजङ्गल र हिमाली दृश्यको अवलोकन गर्न सकिने भएकाले यी समय पर्यटकका लागि आकर्षक मानिन्छन्।
टेम्केमैयुङ गाउँपालिकाले पनि मुन्दुम पदमार्गलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने योजना अघि बढाएको छ। गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार प्राकृतिक सौन्दर्य, किरात संस्कृति र ऐतिहासिक पहिचानलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउने लक्ष्यका साथ पूर्वाधार तथा प्रवर्द्धनका काम भइरहेका छन्।
पदमार्गको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बढाउन प्रचारप्रसारसँगै पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको अध्यक्ष बस्नेतले बताए। उनका अनुसार पदमार्गको संरक्षण, सरसफाइ, आवागमन सहज बनाउने तथा पर्यटकमैत्री सेवा विस्तारलाई प्राथमिकता दिइएको छ।
‘मुन्दुम पदमार्गमा आउने पर्यटकको संख्या हरेक वर्ष बढिरहेको छ,’ उनले भने, ‘पर्यटकको सुरक्षित र सहज यात्राका लागि आवश्यक व्यवस्थापनमा गाउँपालिकाले ध्यान दिएको छ।’
मुन्दुम पदमार्गको मुख्य आकर्षण भनेकै प्रकृति र संस्कृतिको संयोजन हो। तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी हुँदै सिलिचुङ चुचुरोसम्मको यात्रामा पर्यटकले पूर्वी पहाडका मनोरम भू–दृश्य, गुराँस क्षेत्र, वनजङ्गल तथा मौसम खुलेका बेला हिमाली शृङ्खलाको दृश्यावलोकन गर्न सक्छन्।
किरात सभ्यता, मुन्दुम परम्परा र स्थानीय रहनसहनसँग प्रत्यक्ष जोडिन पाउनु पनि पदमार्गको विशिष्टता हो। पछिल्लो समय प्रकृति, संस्कृति र पदयात्रालाई एकैपटक अनुभव गर्न चाहने पर्यटकका कारण मुन्दुमप्रतिको आकर्षण बढ्दै गएको स्थानीयको भनाइ छ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटनलाई स्थानीय रोजगारी र उत्पादनसँग जोड्न सके त्यसको प्रत्यक्ष लाभ समुदायसम्म पुग्ने बताइन्। पर्यटक बढेसँगै होटल तथा रेस्टुरेन्ट सञ्चालन, स्थानीय उत्पादन बिक्री र विभिन्न सेवा प्रदान गर्ने अवसर सिर्जना हुने उनको भनाइ छ।
पर्यटकलाई स्थानीय स्वाद र उत्पादनसँग जोड्ने उद्देश्यले कृषिउपज, परम्परागत परिकार तथा घरेलु सामग्रीलाई पर्यटन बजारसँग जोड्नुपर्नेमा स्थानीय व्यवसायीको जोड छ। यसो गर्न सके पर्यटनबाट हुने आम्दानी गाउँमै राख्न सकिने उनीहरूको भनाइ छ।
पदयात्रालाई थप सहज बनाउन पदमार्ग क्षेत्रमा खानेपानी, शौचालय, विश्रामस्थल, सूचना पाटीलगायत पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम भइरहेका छन्। पदमार्गको नियमित मर्मतसम्भार र पर्यटकको सुरक्षाका लागि स्थानीय तह, व्यवसायी तथा समुदायबीच समन्वय गर्ने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।
मुन्दुम पदमार्गमा बढ्दो पर्यटक आगमनले पूर्वी पहाडको पर्यटन सम्भावनालाई थप उजागर गरेको छ। अब पर्यटकको संख्या बढाउने मात्र नभई उनीहरूको बसाइ लम्ब्याउने, स्थानीय उत्पादनको खपत बढाउने र पर्यटनबाट रोजगारी तथा आय सिर्जना गर्ने गरी योजनाबद्ध विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।
