चार लेनको नारायणघाट–बुटवल सडकले फेरिँदैछ राजमार्गको रूप
नवलपुर — लामो समयको निर्माणपछि नारायणघाट–बुटवल सडकको स्वरूप फेरिन थालेको छ। सडक विस्तारको मुख्य काम पूरा भएसँगै अहिले डिभाइडरमा दुबो रोप्ने, सडक किनार सजाउने, पैदलमार्ग निर्माण गर्ने र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित कामलाई अन्तिम रूप दिइँदैछ।
करिब ११३ किलोमिटर लामो यो सडकको बीचमा रहेको करिब तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम तीव्र पारिएको छ। गैँडाकोट, देवचुली, कावासोतीलगायत क्षेत्रमा डिभाइडर हरियाली बनाउने काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।
उनका अनुसार सडकको मुख्य कालोपत्र तथा ढलानको काम लगभग पूरा भइसकेको छ। अब सर्भिस लेन, डिभाइडर तथा सडक किनारको रङरोगन, हरियाली व्यवस्थापन, पैदलयात्रीका लागि पेटी निर्माण र रेलिङ राख्ने काम भइरहेको छ।
६५ वर्षपछि राजमार्गको नयाँ स्वरूप
नारायणघाट–बुटवल सडक विस्तारले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डलाई नयाँ स्वरूप दिएको छ। तत्कालीन राजा महेन्द्र शाहले विसं २०१८ मा नवलपुरको गैँडाकोटमा शिलान्यास गरेर सुरु भएको यो राजमार्ग करिब ६५ वर्षपछि चार लेनको स्वरूपमा विस्तार भएको हो।
सडक विस्तारका लागि २०७५ माघमा सम्झौता भएको थियो। सोही वर्षको चैतमा शिलान्यास गरी निर्माण सुरु गरिएको थियो। सुरुमा ४२ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले चारपटक म्याद थप्नुपरेको थियो। करिब आठ वर्षपछि गत साउनमा मुख्य निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ।
‘सडकको मुख्य काम सकिएपछि साउनमै टेकओभर गरिसकेका छौँ,’ सूचना अधिकारी खनालले भने, ‘तर सडक औपचारिक रूपमा हस्तान्तरण भइसकेको छैन। टेकओभरपछि पाँच वर्षसम्म निर्माण कम्पनीले देखिएका त्रुटि सच्याउने जिम्मेवारी हुन्छ।’
पाँच वर्षसम्म निर्माण कम्पनीकै जिम्मेवारी
सडक सञ्चालनमा आएपछि देखिन सक्ने प्राविधिक समस्या समाधान गर्न पाँच वर्षको परीक्षण तथा त्रुटि सुधार अवधि राखिएको छ। निर्माणका क्रममा तत्काल देखिन नसक्ने कमजोरी सडक सञ्चालनमा आएपछि देखिन सक्ने भएकाले निर्माण कम्पनीले त्यस्ता समस्या सच्याउनुपर्ने व्यवस्था गरिएको हो।
अहिले सडकका विभिन्न भागमा देखिएका त्रुटि सुधार, पैदलयात्रीका लागि पेटी निर्माण, सडक किनारमा रेलिङ राख्ने तथा आवश्यक स्थानमा ढलान गर्ने काम भइरहेको छ।
कतै चार लेन, कतै छ लेन
नारायणघाट–बुटवल सडकलाई भौगोलिक अवस्था र बजार क्षेत्रको आवश्यकताअनुसार फरक स्वरूपमा निर्माण गरिएको छ।
गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्मको ४८ किलोमिटर पश्चिम खण्ड गरी सडकलाई दुई भागमा विभाजन गरिएको थियो। दुवै खण्डको निर्माण चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरेको हो।
कुल ११३ किलोमिटरमध्ये करिब ७० किलोमिटर सडक चार लेनको छ। बजार क्षेत्रमा थप सर्भिस लेनसहित करिब २९ किलोमिटर सडक छ लेनको बनाइएको छ भने भौगोलिक रूपमा कठिन दाउन्नेको करिब १४ किलोमिटर खण्ड तीन लेनमा विस्तार गरिएको छ।
दाउन्ने क्षेत्रमा बारम्बार सडक भासिने तथा कालोपत्र बिग्रिने समस्या देखिने भएकाले करिब ११ किलोमिटर भागमा सिमेन्ट कङ्क्रिट प्रविधि प्रयोग गरिएको छ।
सडकसँगै पर्यटन यात्रामा पनि सहजता
नारायणघाट–बुटवल खण्ड नेपालको पूर्व–पश्चिम आवागमनको महत्वपूर्ण मार्ग हो। चितवन, नवलपुर, पाल्पा, रुपन्देहीलगायत क्षेत्रलाई जोड्ने भएकाले सडक विस्तारले दैनिक आवागमनसँगै पर्यटन यात्रामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज, नवलपुरका पर्यटकीय क्षेत्र, पाल्पा र लुम्बिनी जाने यात्रुका लागि यो सडक महत्वपूर्ण पहुँचमार्ग हो। सडकको अवस्था सुधारिएसँगै लामो दूरीको यात्रा सहज र सुरक्षित हुने तथा पर्यटकले गन्तव्यसम्म पुग्न लाग्ने समय घट्ने अपेक्षा गरिएको छ।
विशेषगरी लुम्बिनी, पोखरा, चितवन तथा पश्चिम नेपालका पर्यटकीय गन्तव्यलाई जोड्ने सडक सञ्जालमा यो खण्डको सुधारले सकारात्मक प्रभाव पार्न सक्छ। सडकमा यात्रा सहज हुँदा पर्यटकको आवागमन, स्थानीय बजार र होटल व्यवसायमा समेत अप्रत्यक्ष लाभ पुग्ने देखिन्छ।
गति बढेसँगै सुरक्षा चुनौती
चार लेनको सडक बनेपछि सवारीसाधनको गति बढ्ने भएकाले दुर्घटना न्यूनीकरणलाई आयोजनाले प्राथमिकतामा राखेको छ। सडकमा लेन मार्किङ, ट्राफिक संकेत, गति सीमा संकेत तथा सवारीको गति निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्था गरिएको छ।
आयोजनाका अनुसार खुला तथा सिधा सडकमा अधिकतम ८० किलोमिटर प्रतिघण्टा, बजार क्षेत्र तथा क्रसिङमा करिब ६० किलोमिटर प्रतिघण्टा र वन क्षेत्र तथा दाउन्ने पहाडी भागमा अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गति सीमा तोकिएको छ।
१७ अर्बभन्दा बढी लगानी
नारायणघाट–बुटवल सडक विस्तारमा करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ। कुल लागतको करिब ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋणका रूपमा उपलब्ध गराएको हो।
सडक विस्तारसँगै २१ वटा ठूला पुल र ४३ वटा साना पुल निर्माण गरिएका छन्। पानी निकासका लागि ४६ वटा कल्भर्ट तथा नालीसमेत निर्माण गरिएको छ।
ठूला पुलहरू पुराना पुलको दक्षिणतर्फ दुई लेनमा निर्माण गरिएको छ भने साना पुल तथा कल्भर्ट चार लेनको संरचनाअनुसार तयार पारिएका छन्। आवश्यकताअनुसार पुराना पुललाई स्तरोन्नति वा प्रतिस्थापन गरिएको आयोजनाले जनाएको छ।
सडक विस्तारको अर्को पक्ष : ठूलो वन क्षेत्र प्रभावित
सडक विस्तारका क्रममा गैँडाकोटदेखि बुटवलसम्म करिब ४९ हजार ८३० वटा रुख काटिएका थिए। सडकको चौडाइ बढाउने क्रममा वन क्षेत्रसमेत प्रभावित भएको थियो।
अब सडकको निर्माण सकिएपछि डिभाइडर र सडक किनारमा हरियाली बढाउने काम अघि बढाइएको छ। दुबो तथा सजावटी बिरुवा रोप्ने कामले सडकको सौन्दर्य बढाउनुका साथै लामो दूरीको राजमार्गलाई हरियालीयुक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नारायणघाट–बुटवल सडक अब केवल पूर्व–पश्चिम आवागमनको मार्ग मात्र नभई पश्चिम नेपालका प्रमुख पर्यटकीय गन्तव्य जोड्ने महत्वपूर्ण कनेक्टिभिटी पूर्वाधारका रूपमा स्थापित हुने क्रममा छ। निर्माणपछिको चुनौती भनेको सडकको गुणस्तर कायम राख्दै सुरक्षित यात्रा, नियमित मर्मतसम्भार र वातावरणमैत्री व्यवस्थापनलाई दीर्घकालीन रूपमा अघि बढाउनु हो।
