लाइफ र एनएलजी इन्स्योरेन्सले पाए हकप्रद बिक्रीको स्वीकृति

टुरिजमफेस
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन र एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर बिक्रीको अनुमति पाएका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसनले ८० प्रतिशत अर्थात एक बराबर ०.८ अनुपात बराबर हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई हकप्रद जारी गर्न स्वीकृति दिएको हो । हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ पुग्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६५ करोड छ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ हुनुपर्ने व्यवस्था गरेसँगै बीमा कम्पनीहरू पुँजी जोहो गर्ने उपायमा छन् ।
त्यस्तै बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीलाई पनि ६२ प्रतिशत हकप्रद जारी गर्ने अनुमति दिएको छ । एनएलजीले एक बराबर ०.६२५ अनुपातमा सेयर जारी गर्नेछ । हाल उक्त कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड छ । कम्पनीले हालै ५.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले हकप्रद सेयर दिएसँगै चुक्ता पुँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्छ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको हकमा भने चुक्ता पुँजी दुई अर्ब ५० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।