एयरहोस्टेसको उमेर हद बढाएर ५० वर्ष
टुरिजमफेस
काठमाडौं । सरकारले विमान परिचारक÷परिचारिका (एयरहोस्टेस) को ४५ वर्षे उमेर हदलाई ५० वर्ष पु¥याउने भएको छ । ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रु सदस्यहरूसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निगमलाई निर्देशन दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरूले आफूहरूमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको लगायतका माग राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए ।
‘५ वर्ष थप अनुभवी एयरहोस्टेसले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ । ४५ को उमेरहदलाई ५० मा पु¥याउने निस्कर्षमा पुगेका छौं । त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौं,’ उनले भने ।
उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए ।
मन्त्री पाण्डेले नेपालका सन्दर्भमा अहिले औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेर हद ५० वर्ष पु¥याउँदा फाइदा हुने पनि बताए ।
मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक÷परिचारिकाहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिवद्धतासहित फर्किएको मन्त्री पाण्डेले जानकारी दिए ।
क्याबिन क्रुको हड्तालका कारण नेपाल वायुसेवा निगमको शुक्रवार राति साढे ११ बजेको काठमाडौं–दुबई उडान रद्ध भएको थियो । जसकारण ३ सय २८ यात्रु अलपत्र परेका थिए ।
निगममा कार्यरत परिचारिका÷परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याविन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी २०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए । उक्त मुद्दाको किनारा लागेको छैन ।
निगमले ४५ वर्ष उमेर पुगेका क्याविन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा थिए ।
