विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान
काठमाडौं । दसैंको दशमीका दिनमा पनि बागमती सफाइ महाअभियानले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिजार स्वयंसेवी रूपमा बागमती सफाइ हुँदै आएको छ ।
बागमती सफाइ महाअभियानको ५९६औं हप्तामा आज तिलगङ्गास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा माला खरेलले जानकारी दिए । बिहान ७ देखि ९ बजेसम्म १० जना सफाइ अभियानकर्मीले १० बोरा फोहर व्यवस्थापन गरेको जानकारी उनले दिए । अभियानकर्मीले उठाएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रूपमा हुँदै आएको छ । बागमती सफाइ महाअभियानले नागरिकमा सफाइ जागरण फैलाउन सहयोग गरेको छ । स्थानीय सरकारको असहयोगले सफाइमा आशातीत सफलता भने हासिल हुन नसकेको अभियानकर्मीको भनाइ छ । रासस
